२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

पक्राउ परेका मानबहादुरमाथिको कारबाहीबारे नेकपाको प्रष्टोक्ति, ‘रातोमसी’को समाचारप्रति आपत्ति

बाँके । नक्कली नोट र अफिम जस्तो देखिने लागुऔषधसहित पक्राउ परेका जनगर्जन मिडिया नेटवर्क प्रालिका सञ्चालक मानबहादुर सहकारीलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूहले एक वर्षअघि नै पार्टीबाट कारबाही गरिसकेको खुलासा भएको छ।

नेकपाको कपिलवस्तु जिल्ला सदस्य रहेका मनबहादुर सहकारीलाई २०८१ माघ २४ गते अनिश्चितकालका लागि पार्टीबाट निलम्बन गरिएको पार्टीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। जिल्ला सेक्रेटरी सन्देश सीद्वारा हस्ताक्षरित विज्ञप्तिमा सहकारीले पार्टी नीति विपरित काम गरेकाले कारबाही गरिएको जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, “क. मनबहादुर सहकारी (विश्वास सी) द्वारा सञ्चालित ‘जनगर्जन नेटवर्क प्रा.लि.’ सँग हाम्रो पार्टीको हिजो पनि कुनै सम्बन्ध थिएन र अब पनि रहनेछैन।”

यता, मनबहादुर पक्राउ परेपछि रातोमसी अनलाइनले ‘विप्लवका पत्रकारको नक्कली नोट र लागुऔषधको गोदाम’ शीर्षकमा समाचार प्रकाशन गरेपछि नेकपाले त्यसप्रति कडा आपत्ति जनाएको छ।

नेकपाका प्रवक्ता प्रकाण्ड सीले उक्त समाचार भ्रामक, तथ्यहीन र कपोकल्पित भएको बताउँदै साम्राज्यवादी शक्तिको योजनाअन्तर्गत पार्टीलाई बदनाम गर्न यस्तो प्रचार गरिएको दाबी गरेका छन्। उनले ज्वाला खबरसँग प्रतिक्रिया दिंदै भने, “जनगर्जनको कार्यालयमा प्रवक्ता पुगेको भनेर समाचार लेख्नु पूर्णतः झूट हो। म असार २८ गते पार्टी उत्पादन कार्यका लागि बाँके पुगेको थिएँ, कार्यालय गएको भन्ने कुरा सरासर गलत हो।”

प्रवक्ता प्रकाण्डले रातोमसी अनलाइनका सम्पादक जन्मदेव जैसीको भूमिका पनि शंकास्पद भएको टिप्पणी गरेका छन्। उनका अनुसार जैसी पूर्वमा विप्लव नेतृत्वको नेकपामा पत्रकार संगठनको नेतृत्व गर्न चाहन्थे, तर पार्टीले अस्वीकार गरेपछि उनी असन्तुष्ट भइ माओवादी केन्द्रमा प्रवेश गरेका थिए।

जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्माले पनि मनबहादुर अब संगठनसँग आबद्ध नरहेको र पार्टीको कारबाहीपछि केन्द्रीय सदस्यबाट स्वतः पदमुक्त भइसकेको जानकारी दिएका छन्। उनले नेकपाका नेताहरूको नाम जोडेर फोटोसहित समाचार प्रकाशित गर्नु गलत र अपमानजनक भएको प्रतिक्रिया दिएका छन्।

प्रहरीका अनुसार, मनबहादुर सहकारी कोहलपुरस्थित जनगर्जन मिडिया कार्यालयबाट १९ केजी अफिम जस्तो देखिने पदार्थ, ५१ हजार नक्कली नोटसहित पक्राउ परेका थिए। त्यसपछि सुर्खेतमा थप अनुसन्धानको क्रममा अन्य चार व्यक्तिसँग १३ लाख नक्कली नोट र ३० केजी लागुऔषध जस्तो देखिने वस्तु बरामद भएको थियो। घटनास्थलबाट कम्प्युटर, प्रिन्टर र क्यामेरा पनि प्रहरीले बरामद गरेको छ।

नेकपाले यो विषयलाई गम्भीर रूपमा लिँदै पार्टी र नेताहरूमाथिको योजनाबद्ध चरित्रहत्या भएको भन्दै आगामी दिनमा कानुनी तथा राजनीतिक हिसाबले प्रतिकार गर्ने चेतावनी पनि दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?