काठमाडौँ । तामाङ समुदायको मौलिक भाषा, संस्कार, संस्कृति तथा कला–संगीतको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले स्थापना गरिएको ह्याङ्ला रिमठिम तामाङ डम्फू संघ नेपालको उद्घाटन शनिबार काठमाडौँमा भव्य रूपमा सम्पन्न भएको छ ।

उक्त समारोहमा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा प्रमुख अतिथिको रूपमा उपस्थित हुनु भएको थियो । उहाँले मन्तव्य दिँदै तामाङ समुदायको सांस्कृतिक सम्पदाको जगेर्ना र नयाँ पुस्तामा यसको हस्तान्तरण आवश्यक रहेको बताउनु भयो । कार्यक्रममा बोल्दै उपप्रमुख लामाले तामाङ भाषाको संरक्षण र नयाँ पुस्तामा यसको हस्तान्तरणको खाँचो औँल्याउनु भएको थियो । उहाँले भन्नुभयो, “विदेशी भाषा भन्दा आफ्नै मातृभाषा राम्रो लाग्छ, तामाङहरूले अनिवार्य रूपमा सिक्नुपर्छ, पछिल्लो पुस्तालाई सिकाउनैपर्छ, विदेशसम्म फैलाउनुपर्छ ।”

उपप्रमुख लामाले तामाङ समुदायका सबैलाई एकतामा उभिन आह्वान गर्दै आफू सधैं सहयोग गर्न तयार रहेको जनाउनुभयो। साथै, उहाँले सरकारको बजेट वितरण प्रणालीप्रति गुनासो गर्दै भन्नुभयो, “मठ–मन्दिरलाई सजिलै बजेट छुट्याइन्छ,तर गुम्बा, छोर्तेन र तामाङ संस्कृति जगेर्नासँग सम्बन्धित संरचनालाई बजेट दिइँदैन । प्रदेश प्रमुख हाम्रै समुदायका हुनुहुन्छ, तर हामीलाई नै सहयोग हुँदैन ।”

उद्घाटन समारोहमा तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूले प्रस्तुत गरेको जुहारी,डम्फू नृत्य, र सांस्कृतिक गीत–संगीतले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। उनीहरूले पारम्परिक भेषभूषामा सजिएर समूहमा नाचगान प्रस्तुत गरेका थिए, जसकारण सम्पूर्ण माहोललाई उत्सवमय बनायो ।
संघका पदाधिकारीहरूले वार्षिकोत्सवको अवसर पारेर आगामी दिनहरूमा तामाङ समुदायको अधिकार, संस्कृति र पहिचानको सवालमा एकजुट भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो उद्घाटन कार्यक्रम तामाङ समुदायको सशक्त पहिचान निर्माणतर्फको महत्त्वपूर्ण कदमको रूपमा लिइएको छ ।














