३ चैत्र २०८२, मंगलबार
३ चैत्र २०८२, मंगलबार

कञ्चनपुरमा ‘प्रभावमा आधारित मौसम पूर्वानुमान’ कार्यशाला सुरु, पूर्वसूचना सुदृढिकरणमा जोड

कञ्चनपुर । यस वर्षको मनसुन अवधिमा हुन सक्ने प्राकृतिक प्रकोपबाट धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले कञ्चनपुरमा ‘प्रभावमा आधारित पूर्वानुमान’ सम्बन्धी दुई दिने कार्यशाला बिहीबारदेखि सुरु भएको छ। कञ्चनपुरका वेदकोट, भीमदत्त, दोधाराचाँदनी र डडेलधुराको परशुराम नगरपालिकालाई लक्षित गरी आयोजना गरिएको यस कार्यशालाले मनसुन पूर्वतयारीमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

मनसुनको समयमा बाढी, पहिरो र अन्य विपद्का घटनाहरूले पुऱ्याउन सक्ने क्षतिलाई कम गर्नका लागि प्रभावमा आधारित पूर्वानुमान प्रणालीको महत्वबारे यस कार्यशालामा विस्तृत छलफल गरिनेछ। यस प्रणालीले मौसमसम्बन्धी जानकारीलाई सम्भावित प्रभावसँग जोडेर थप प्रभावकारी पूर्वसूचना प्रदान गर्न सहयोग गर्छ।

कार्यशालामा सम्बन्धित नगरपालिकाका जनप्रतिनिधिहरू, विपद् सम्पर्क व्यक्तिहरू, जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिहरू, तथा गैरसरकारी संस्थाहरू जस्तै एनएनएसडब्लुए, डिसिए, आइएचआरआर र नक्सा प्रालीका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको छ। यसले विपद् व्यवस्थापनमा बहु-निकाय समन्वयको आवश्यकतालाई झल्काएको छ।

कार्यशालाको शुभारम्भमा नक्सा प्रा.ली का प्रतिनिधि विद्या भण्डारीले स्वागत मन्तव्य राख्दै कार्यशालाको मूल उद्देश्य र यसले स्थानीय स्तरमा पार्ने सकारात्मक प्रभावबारे प्रकाश पार्नुभएको थियो। उहाँले विपद् पूर्वतयारीमा स्थानीय समुदाय र सरोकारवालाहरूको भूमिकालाई जोड दिनुभएको थियो।

एनडीआरआरएमएका उपसचिव वेदनिधि खनालले यस वर्षको मनसुनको तयारीका लागि विभागले गरिरहेका विभिन्न प्रयासहरू र पूर्वसूचना प्रणालीलाई थप सुदृढ पार्न चालिएका कदमहरूबारे जानकारी गराउनुभयो। उनले मौसमसम्बन्धी अद्यावधिक जानकारीमा पहुँचको महत्वमाथि पनि जोड दिनुभएको थियो।

त्यस्तै जल तथा मौसम विज्ञान विभागका मौसमविद् बिनु महर्जनले कार्यक्रमको प्राविधिक पक्षलाई सशक्त बनाउँदै प्रभावमा आधारित मौसम पूर्वानुमानको महत्वबारे विस्तृत प्रस्तुति दिनुभएको थियो। उनले मौसम पूर्वानुमान महाशाखाले जारी गर्ने विभिन्न बुलेटिनहरू, पूर्वसूचना प्रणाली र तिनीहरूको उचित प्रयोगबाट कसरी मानवीय तथा भौतिक क्षतिलाई न्यून गर्न सकिन्छ भन्ने बारेमा सहभागीहरूलाई सैद्धान्तिक तथा व्यावहारिक जानकारी गराउनुभयो। मौसमविद् महर्जनले विपद्का बेला तत्काल गरिने निर्णयका लागि सही र समयमै प्राप्त जानकारीको आवश्यकतामाथि जोड दिनुभयो।

कार्यशालाको पहिलो दिनमा गत वर्ष सञ्चालित यस्तै कार्यशालाले पारेको प्रभावबारे आईएचआरआरका मौसमविद् मनिषा केसीले समीक्षा र छलफल गर्नुभएको छ। यसले विगतका अनुभवबाट पाठ सिक्दै भविष्यका लागि थप प्रभावकारी योजना बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

डीसीएका व्यवस्थापक दिनेश गुरुङले पूर्वानुमान कार्यको आधारभूत अवधारणा, प्रभाव तालिका निर्माण लगायतका महत्वपूर्ण प्राविधिक पक्षहरूबारे जानकारी प्रदान गर्नुभयो। उहाँले स्थानीय स्तरमा जोखिम विश्लेषण र पूर्वतयारीका लागि आवश्यक पर्ने प्राविधिक ज्ञानको महत्वमाथि प्रकाश पार्नुभयो।

दोधाराचाँदनीका नगर प्रमुख किशोर लिम्बुले कार्यशालाको महत्व र यसबाट स्थानीय तहलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यमा पुग्ने सहयोगबारे आफ्नो धारणा राख्नुभएको थियो। उहाँले यस्ता कार्यशालाहरूले स्थानीय समुदायलाई विपद्को सामना गर्न सक्षम बनाउने र सचेतना अभिवृद्धि गर्ने बताउनुभयो।

समग्रमा, यो कार्यशालाले कञ्चनपुर र डडेल्धुराका जोखिममा रहेका नगरपालिकाका लागि मनसुन पूर्वतयारीलाई अझ सशक्त बनाउने र सम्भावित विपद् बाट हुने क्षतिलाई कम गर्न महत्वपूर्ण योगदान पुऱ्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?