भक्तपुर,। लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठानमा आवद्ध पत्रकारहरूको एक टोलीलाइ भिलेज हाइल्याण्ड रिसोर्ट, रानीकोट भक्तपुरद्वारा विदाई गरिएको छ ।
उक्त टोली लाङटाङ पदयात्रा क्षेत्रको स्थलगत रिपोर्टिङका लागि जाने भएकोले उनीहरूलाई भिलेज हाइल्याण्ड रिसोर्ट, रानीकोट भक्तपुरले एक विशेष कार्यक्रम गर्दै खादा र भादगाउँले टोपीले आइतबार विदाइ गरेको हो ।
विदाइ कार्यक्रममा भिलेज हाइल्याण्ड रिसोर्टका अध्यक्ष रामसुन्दर बकेले खादा ओढाएर पत्रकारहरूको सफल यात्रा तथा रिपोर्टिङका लागि शुभकामना व्यक्त गरे।
कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष बकेले लाङटाङ जस्तो विश्वप्रसिद्ध गन्तव्यको विविध पक्षबारे स्थलगत रिपोर्टिङ हुन लागेकोमा खुसी व्यक्त गरे। उनले पत्रकारहरूलाई बफर जोनमा बसोबास गर्ने समुदायको संस्कृति, परम्परा, भाषा, साहित्य तथा ग्रामीण जीवनशैलीजस्ता विषयमा खोजमूलक रिपोर्टिङ गर्न सुझाव दिए। “स्थलगत पत्रकारिताले पर्यटन मात्र होइन, स्थानीय जीवनको यथार्थ उजागर गर्न सहयोग पुर्याउँछ,” उनले भने।
साथै, उनले भक्तपुरको रानीकोट क्षेत्रको ऐतिहासिक, सांस्कृतिक र प्राकृतिक महत्वबारे जानकारी दिँदै यसको प्रचारप्रसारमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए। “महाभारतकालदेखि मल्लकालसम्मको ऐतिहासिक सन्दर्भ बोकेको रानीकोट अब पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदैछ,” अध्यक्ष बकेले उल्लेख गरे।
लाङटाङ स्थलगत रिपोर्टिङ कार्यक्रम लुम्बिनी पर्यटन सञ्चार प्रतिष्ठान र बागमती प्रदेश पर्यटन मन्त्रालयको सहकार्यमा सम्पन्न हुँदैछ। यही २०८२ साल जेष्ठ २० गतेदेखि २४ गतेसम्म पत्रकार टोली लाङटाङ क्षेत्रमा रहनेछ।
पत्रकार टोलीलाई पदयात्रामा आवश्यक सामग्री सहयोग युनिक एड्भेन्चर इन्टरनेसनल प्रालिले गरेको छ। आयोजकहरूले यो कार्यक्रमबाट लाङटाङ क्षेत्रको पर्यटन, संस्कृति र सामाजिक पक्षको गहिरो अध्ययन तथा प्रचार हुने अपेक्षा गरेकाे बताएका छन्।














