पहलमानपुर, । जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ९ मा नेपाल कम्युनिस्ट पार्टी द्वारा आयोजित किसानसँग विप्लव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। कार्यक्रममा नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले स्थानीय किसानहरूसँग संवाद गर्दै कृषि प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको धारणा व्यक्त गरे।
कृषकका प्रतिनिधिहरूले उत्पादनको मूल्य निर्धारणमा किसानको अधिकार नहुनु, मल–बिउको अभाव, सहुलियतका नाममा हुने दलाली, आयातित वस्तुले आन्तरिक उत्पादनलाई दबाबमा पार्नुजस्ता विषयमा आफ्ना अनुभव र पीडा व्यक्त गरे। युवा कृषक राजेश चौधरी, गगनसिंह बटाला, गोरख बहादुर सिंह, खडक बहादुर बुढा, मानबहादुर रावल, पुष्कलबहादुर वम लगायतले कृषिमा सुधार र आत्मनिर्भरता ल्याउन पार्टीको योजनालाई स्वागत गरेका थिए।
रतिपुर कृषि उत्पादन केन्द्रका प्रमुख डबल बहादुर सी (भगतसिंह) ले केन्द्रले श्रमको मूल्यांकन गर्दै १३ लाख रुपैयाँ बराबरको पारिश्रमिक स्थानीय कृषकलाई वितरण गरेको जानकारी दिए। किसान महासंघका मानबहादुर चौधरीले जैविक खेतीमा जोड दिनुपर्ने धारणा राखे।
कार्यक्रममा नेकपाका केन्द्रीय र क्षेत्रीय नेताहरूको उल्लेख्य उपस्थिति थियो। सुदूरपश्चिम इन्चार्ज भरत सी, पोलिटब्युरो सदस्य विकल्प सी, केन्द्रीय सदस्य समर सी, कैलाली जिल्ला इन्चार्ज प्रकाश सी, पत्रकार संगठनका अध्यक्ष शेरबहादुर विश्वकर्मा लगायतका नेताहरू सहभागी थिए। कार्यक्रमको सञ्चालन डबल बहादुर सीले गरेका थिए भने स्वागत मन्तव्य भुवनजङ्ग शाहले दिएका थिए।
यस संवाद कार्यक्रमले किसानको आवाजलाई राजनीतिक एजेन्डासँग जोड्दै कृषि क्रान्तिको आवश्यकता र सम्भाव्य मार्गचित्रबारे गम्भीर बहसको सुरुवात गराएको छ।
।














