काठमाडौं । पाकिस्तानसँग तनाव बढ्दै गएपछि भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२५ को सिजन रद्द गरिएको छ । पाकिस्तानसँग बढ्दो तनावका कारण आईपीएल रद्द गर्ने निर्णय गरेको बीसीसीआईले जनाएको छ । यसअघि बिहीबार हिमाञ्चल प्रदेशको धर्मशालामा पञ्जाब र दिल्लीबीचको खेल बीचमै रोकिएको थियो । त्यसपछि खेलाडी, टिमका सदस्य र अफिसियलहरूलाई सुरक्षित स्थानमा सारिएको थियो ।
कश्मीरको पहलगाममा एक नेपाली सहित २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारत–पाकिस्तानबीच तनाव बढेको हो । त्यसयता दैनिक भारत र पाकिस्तान सीमा क्षेत्रमा गोलाबारी भइरहेको छ । बिहीबार भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका हवाई आक्रमणपछि पाकिस्तानले पनि जवाफी हमला सुरु गरेको छ । जसले गर्दा अहिले भारत र पाकिस्तानबीच पूर्णस्तरको युद्धको खतरा बढेको छ ।