कालिकोट । रास्कोट नगरपालिकामा सार्वजनिक खर्चमा मितव्ययिता नहुँदा करोडौं रुपैयाँ वेरुजु देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० सम्ममा नगरपालिकामा जम्मा १९ करोड ३८ लाख ३६ हजार रुपैयाँ वेरुजु रकम रहेको पाइएको हो।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्रै ५ करोड ३८ लाख ३२ हजार रुपैयाँ वेरुजु देखिएको छ। यसमध्ये ३५ लाख ७२ हजार असुल गर्नुपर्ने, २ करोड ८५ लाख ७३ हजार कागजात पेश गर्नुपर्ने, २ करोड ८ लाख ४८ हजार नियमित गर्नुपर्ने र ८ लाख ३९ हजार रुपैयाँ पेश्की बाँकी रहेको उल्लेख छ।
२०७९ सालभन्दा अघिको वेरुजु रकम पनि १४ करोड ४ लाख रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ। यद्यपि आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन। तर, त्यस वर्षको प्रतिवेदन सार्वजनिक भएपछि वेरुजु रकम अझै बढ्न सक्ने अनुमान गरिएको छ।
महालेखाले स्थानीय तहले कामकाजका लागि आवश्यक कानुन निर्माण नगरेको, कानुन विपरीतका कार्यहरू दोहोरिएको, र बजेट अनुशासन कमजोर रहेको जस्ता गम्भीर टिप्पणी गरेको छ।
साथै, नगरपालिकामा आन्तरिक आय न्यून रहेको, प्रशासनिक तथा अनुत्पादक खर्च बढेको, एउटै योजना टुक्र्याएर सञ्चालन गरिएको, वर्षअन्त्यमा खर्चको चाप बढेको, निर्माण कार्य सुनिश्चित नभएका योजनामा समेत परामर्शदाता मार्फत विस्तृत आयोजना प्रतिवेदन तयार गरी खर्च गरिएको, र जटिल प्रकृतिका काम उपभोक्ता समितिबाट गराइएको उल्लेख गरिएको छ।
जनशक्ति व्यवस्थापनमा कमजोरी, स्वीकृत दरबन्दीबिना कर्मचारी नियुक्ति, आन्तरिक नियन्त्रण प्रणाली कमजोर, सार्वजनिक सम्पत्ति संरक्षणमा कमजोरी, र लेखापरीक्षण प्रतिवेदनको छलफल तथा वेरुजु फस्र्योटका लागि स्पष्ट कार्यविधि अझै तयार नभएकोजस्ता पक्षहरू पनि प्रतिवेदनमा औंल्याइएको छ।
महालेखा परीक्षकको कार्यालयले नगरपालिकालाई यथाशीघ्र सुधारका उपायहरू अपनाउन र वेरुजु रकम असुल गर्न निर्देशन दिएको छ।





