चितवन, । नेपाली कम्युनिस्ट विद्यार्थी आन्दोलनका तेजस्वी क्रान्तिकारी नेता शहीद मित्रमणि आचार्यको ४०औं स्मृति दिवस शुक्रबार चितवनको पर्साढापस्थित शहादत स्थलमा भव्य रूपमा मनाइएको छ। शहीद प्रतिष्ठान नेपाल, शुक्रनगरको आयोजनामा सम्पन्न स्मृति कार्यक्रममा वामपन्थी दलका शीर्ष नेतादेखि शहीद परिवार, साक्षी, पुराना सहयोद्धा र स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता घटनाका घाइते समेत रहेका शहीद प्रतिष्ठान नेपाल, शुक्रनगरका अध्यक्ष विजय भुजेलले गरे भने सञ्चालन अखिल (समाजवादी) का केन्द्रीय सचिव अटल सीले गरेका थिए।

स्मृति दिवसको मुख्य आकर्षणका रूपमा शहीद मित्रमणिको सम्झनामा निर्मित अर्धकदको शालिक अनावरण गरियो। वक्ताहरूले मित्रमणिको योगदानलाई केवल इतिहासका पानामा सीमित नराखी, समग्र क्रान्तिकारी आन्दोलनको प्रेरणास्रोतको रूपमा आत्मसात् गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा प्रमुख अतिथि तथा मित्रमणिका दाजु टोपराम आचार्यले भावुक हुँदै भने, “कक्षामा सदैव प्रथम, क्याम्पसमा डिस्टिङ्सन ल्याउने मित्रमणिले आफ्नो सम्पूर्ण जीवन क्रान्तिका लागि समर्पण गरे। उहाँको साहस र आदर्शले आज पनि हामीलाई अघि बढ्न प्रेरणा दिइरहेको छ।”

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीले मित्रमणिलाई “संपूर्ण श्रमिक वर्गको प्रतिनिधि र विचारको ज्वालामुखी”को रूपमा व्याख्या गरे। माओवादी नेतृ कञ्चन खनालले मित्रमणिको स्मृति “सङ्गठन र आन्दोलनको ऊर्जा” बनेको बताइन्।
नेकपाका पोलिटब्युरो सदस्य सन्देश सीले स्मृति स्थललाई “शहीद स्मृति बहुउद्देश्यीय पार्क”को रूपमा विकास गर्ने घोषणा गर्दै शहीदहरूको जीवनीलाई पाठ्यपुस्तकमा समावेश गर्नु वर्तमान समयको आवश्यकता भएको बताए। एमाले बागमती प्रदेश कमिटी सदस्य कृष्णप्रसाद भूर्तेलले मित्रमणिको विचारलाई परित्याग गर्नु क्रान्तिलाई धोका दिनुजस्तै हुने धारणा राखे।
कार्यक्रममा विभिन्न वामपन्थी संगठनका नेताहरू— विजयप्रकाश सापकोटा (अखिल क्रान्तिकारी), भविश्वर शर्मा (जनमोर्चा), ईश्वर सापकोटा (बागमती प्रदेश सांसद), उत्सव सी (नेकपा चितवन इन्चार्ज), रुद्र सी, दिनेश सी, सिसम सी लगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा २०४२ सालको घटनामा प्रतिरोध संघर्षमा सहभागी भएका गीतामणि पाण्डे, मधु गुरुङ, गंगा भण्डारी, हस्तबहादुर कुमाल, यज्ञ घिमिरे, टीका पोखरेल लगायतलाई विशेष सम्मान प्रदान गरियो। साथै शहीद तथा बेपत्ता परिवारका सदस्यहरूलाई पनि श्रद्धासहित सम्मान गरिएको थियो।
शहीद मित्रमणि आचार्यको जन्म २०१९ सालमा प्युठानको रम्दी–२, तिघ्रामा भएको थियो। उनी अखिल छैठौंका केन्द्रीय सदस्य तथा रामपुर कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका स्ववियु सभापति थिए। २०४२ साल वैशाख १८ गते चितवनको पर्साढापमा अभिभावक भेलामा जाँदै गर्दा सशस्त्र आक्रमणमा परी उनको हत्या भएको थियो। सो घटनाले त्यो समयको कम्युनिस्ट र विद्यार्थी आन्दोलनलाई गहिरो धक्का दिएको थियो।

चार दशक बितिसक्दा पनि मित्रमणि आचार्यको योगदान र स्मृति आजको पुस्ताका लागि मार्गदर्शक बनेर जीवित छ।



