काठमाडौं । आफूलाई अभियन्ता दाबी गर्ने शर्मिला वाइबामाथि बुधवार राति काठमाडौंको काँडाघारी क्षेत्रमा आक्रमण भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार वाइबामाथि आक्रमण गर्ने व्यक्ति उनकी पुरानी सहकर्मी शर्मिला श्रेष्ठ राई हुन् ।
पक्राउ पर्न बाँकी रहेकी राईले वाइबामाथि लेनदेनको विषयमा विवाद हुँदा लोहेको रेन्चु प्रहार गरेकी थिइन् । घटनामा वाइबा सामान्य घाइते भएकी छिन् । प्रहरीका अनुसार घटना राम मन्दिर नजिकैको पहेँलो पुल क्षेत्रमा भएको हो ।
प्रहरी स्रोतले जनाए अनुसार वाइबा र श्रेष्ठ पहिले सँगै बस्ने गरेका थिए । वाइबा हाल बौद्धस्थित स्तुपा अस्पतालमा चिकित्सकीय अवलोकनमा रहेकी छन् भने आक्रमणपछि राई फरार छिन् ।
प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ र दोषीको खोजी जारी रहेको जनाएको छ ।