नगरकोट । वैशाख १ गते देखि प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पदाले भरिपूर्ण नगरकोटमा‘नगरकोट भ्रमण वर्ष २०८२’ को भव्य सुरुवात गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमार्फत भ्रमण वर्षको औपचारिक उद्घाटन गरिएको हो ।
भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाभित्र पर्ने चार नगरपालिकाको संयुक्त आयोजनामा सुरु भएको यस भ्रमण वर्षको पहिलो दिन नगरकोट विविध सांस्कृतिक रंगले सजिएको थियो। गुरुङ समुदायको पारम्परिक नृत्य, नेवारी सांस्कृतिक झलक, तामाङ सेलो, चुड्का, खैंजडी लगायतका आकर्षक प्रस्तुतीहरूले दर्शकलाई मन्त्रमुग्ध बनाए।
उद्घाटन समारोहमा संघीय, प्रदेश र स्थानीय सरकारका प्रतिनिधिहरू, विशिष्ट व्यक्तित्वहरू तथा स्वदेशी–विदेशी पर्यटकहरूको उल्लेखनीय उपस्थिति थियो।

‘साफ, सुरक्षित र समृद्ध नगरकोट’ भन्ने मूल सन्देशसहित सुरु भएको भ्रमण वर्षले नगरकोटलाई दीगो पर्यटनको प्रमुख गन्तव्यको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। पर्यावरण संरक्षणमा स्थानीयवासीहरूको सक्रियता, सांस्कृतिक सम्पदाको जगेर्ना, र जैविक विविधताको संरक्षणमा विशेष जोड दिइएको उद्घोषणमा उल्लेख गरिएको थियो।
स्थानीय हस्तकला, परिकार तथा पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न स्टलहरूले कार्यक्रममा झनै रौनक थपेका थिए। वर्षभर सञ्चालन गरिने विविध कार्यक्रमहरूबाट नगरकोटको पर्यटन विकासमा नयाँ युगको थालनी हुने त्यहाँका स्थानीयले अपेक्षा गरिएका छ।














