काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. केशरजंग बरालको राजीनामा स्वीकृत भएसँगै विश्वविद्यालय उपकुलपतिविहिन बनेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले बिहीबार बरालको राजीनामा स्वीकृत गरेका हुन्।
बरालको राजीनामा स्वीकृत भएपछिसमेत विश्वविद्यालयमा हालसम्म कसैलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिइएको छैन। त्रिभुवन विश्वविद्यालय ऐनअनुसार उपकुलपति पद रिक्त भएको अवस्थामा रेक्टरलाई निमित्त उपकुलपति तोक्ने व्यवस्था छ। तर, प्रधानमन्त्रीको सचिवालयका अनुसार हालसम्म सो निर्णय गरिएको छैन।
उपकुलपति विहीन अवस्थाले विश्वविद्यालयको प्रशासनिक तथा नीतिगत कार्यसञ्चालनमा अन्योल सिर्जना भएको छ। विशेषगरी शैक्षिक तथा प्रशासनिक निर्णयहरू रोकिएको भन्दै त्रिवि भित्र चिन्ता बढेको छ।
विश्वविद्यालय स्रोतका अनुसार यथाशिघ्र निमित्त उपकुलपति तोकिएर नियमित प्रक्रिया अघि बढाइने अपेक्षा गरिएको छ।













