भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित बालमन्दिर आधारभूत विद्यालयमा मंगलबार बिहानको समय विशेष बन्यो। विद्यालयमा अध्ययनरत २३ जना अनाथ बालबालिकाका लागि त्यो बिहान अविस्मरणीय रह्यो, जब दुई साना दाजु-बहिनीले मायाले भरिएको उपहार प्रदान गरे।
काठमाडौंको काँडाघारीबाट आएका लक्ष्यजीत मल्ल र समृद्धि मल्लले बालबालिकाहरूका लागि शैक्षिक सामग्री,झोला, पोशाक, जुत्ता, मोजालगायतका सामग्री विद्यालयलाई हस्तान्तरण गरे। साथै, विद्यालयलाई नगद सहयोगसमेत प्रदान गरियो। लक्ष्यजीत कक्षा ७ मा अध्ययनरत छन् भने समृद्धि कक्षा ५ मा पढ्दैछिन् ।
विद्यालयकी प्रधानाध्यापक न्हुछेंलक्ष्मी गोरा भन्छिन्, “हाम्रो विद्यालयमा नर्सरी, केजी र कक्षा १ गरी २३ जना विद्यार्थी छन्। सबै अनाथ छन् र विद्यालयमै खान, बस्न, सुत्न बाध्य छन्। यस्तो अवस्थामा बालबालिकाले नै सहयोग गर्नु प्रेरणादायी कुरा हो।”
कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. ३ का अध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकृष्ण गोरा प्रमुख अतिथिका रूपमा उपस्थित थिए। उनले बालबालिकाले गरेको सहयोग देखेर आफू निकै भावुक भएको बताए। “यो दान केवल सामग्री मात्र होइन, यो प्रेम, सहानुभूति र सामाजिक उत्तरदायित्वको अनुपम उदाहरण हो,” उनले भने।
समृद्धिले भनिन्, “हाम्रो हजुरआमा स्वर्गीय लोचनाकुमारी मल्ल यही विद्यालयकी प्रधानाध्यापक हुनुहुन्थ्यो। उहाँको सम्झनामा हामीले सानो प्रयास गरेका हौं।” लक्ष्यजीतले भने, “आफूभन्दा कमजोरलाई सहयोग गर्दा अनौठो खुशी मिल्छ।”
विद्यालयका विद्यार्थीहरू नयाँ झोला, किताब, कापी, र पोशाक पाएपछि निकै उत्साहित देखिए। “अब म राम्रोसँग पढ्न सक्छु,” नर्सरी कक्षामा पढ्ने एक बालिकाले खुशी हुँदै भनिन्।
विद्यालय व्यवस्थापन समितिका सदस्य प्रेमध्वज मोक्तानले कार्यक्रम संयोजन गरेका थिए। उनले भने, “बालबालिकाहरूलाई सहयोग गर्ने यो भावना अन्य बालबालिकाले पनि सिक्न आवश्यक छ।”
विद्यालयमा प्रधानाध्यापकसहित तीन जना शिक्षक कार्यरत छन्, जसमा दुई जना दृष्टिविहीन शिक्षक पनि छन्। विद्यालयमा बालबालिकाहरूका लागि खानपानको व्यवस्था गर्न एक जना भान्से र दुई जना सहयोगी खटाइएका छन्।
यो सहयोगी भावनाले अनाथ बालबालिकाहरूमा आशा जगाउनुका साथै समाजमा सकारात्मक प्रभाव पार्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ। लक्ष्यजीत र समृद्धिले देखाएको परोपकारी कार्य सधैं सम्झनलायक रहनेछ।














