१२ चैत्र २०८१, मङ्लबार
१२ चैत्र २०८१, मङ्लबार

इतिहास नयाँ तरिकाले पुनर्निर्माण गर्न बाँकी छ : समाजवादी मोर्चाका नेताहरुको एकै आवाज

काठमाडौं । मंगलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा नेपालको विचार सभामा नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले देशलाई दलाल पुँजीवादीको हातमा राखेर चुप लागेर बस्न नसकिने बताएका छन्।

उनले विदेशीहरूको इसारामा चल्ने नेताहरूको जिम्मा लगाएर बस्न नहुने भन्दै, इतिहासलाई नयाँ तरिकाले पुनर्निर्माण गर्न बाँकी रहेको उल्लेख गरे । विप्लवले भने, “हामी यो देशको माटोमा उभिएर, यो देशको पहाडमा उभिएर गर्वका साथ भन्छौं। इतिहास नयाँ तरिकाले पुनर्निर्माण गर्न बाँकी छ।

उनले दलाल पुँजीवादको झटारोबाट तर्सिनु नपर्ने भन्दै, देशलाई शान्ति, स्थिरता, र स्वाधीनता दिन समाजवाद नै विकल्प भएको धारणा राखे। उनका अनुसार, वैज्ञानिक समाजवाद सम्भव नभए पनि समाजवादी विचारधाराबीचमा सहमति कायम गर्दै देशलाई अगाडि लैजान आवश्यक छ। विप्लवले थपे, “आज यदि वैज्ञानिक समाजवाद सम्भव छैन भने पनि त्यसमा हाम्रो सहमति बन्न सक्दैन भने समाजवादी पार्टीको बीचमा, समाजवादी विचारधाराबीचमा भव्य सहमति कायम गर्दै जुनसुकै क्षेत्रबाट होस् देशलाई अगाडि लैजान जरुरी छ।”

उनले नेपालको सरकार र गणतन्त्र जनताको बन्न नसकेको उल्लेख गर्दै, यसलाई जनताको सरकार र जनताको राज्यमा बदल्नुपर्नेमा जोड दिए। उनले भने, “सरकार हेरफेर होला, नहोला। त्यसमा हाम्रो धेरै चिन्ताको कुरा छैन। हामीलाई चिन्ता के छ भने यो सरकार नेपालको सरकार बन्न जरुरी छ। नेपालको सरकार, नेपालको राज्य, जनताको राज्य बन्न सकेको छैन। नेपालको गणतन्त्र जनताको गणतन्त्र बन्न सकेको छैन। यसलाई जनताको गणतन्त्र र जनताको राज्यमा बदल्ने सपना हामीले देख्नुपर्छ। त्यो क्षमता हामीसँग छ।”

विप्लवले समाजवादी मोर्चा कुम्भकर्ण नभई ब्युँझेर आएको बताउँदै, मोर्चा गतिमै रहेको र विभिन्न मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको जानकारी दिए। उनले भने, “समाजवादी मोर्चा कुम्भकर्ण होइन, ब्युँझेर आएको छ। मोर्चा गतिमै छ। जसपा अहिले छैन। नेसपालाई सहभागी गराउन सफल भएका छौं। थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको छ।”

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि सम्बोधन गर्दै, संविधान संशोधनको विषयभित्र देश दुर्घटनातिर जाने खतरा लुकेको बताएका थिए। उनले भने, “दुर्घटनाको खतरा त्यहीँ अन्तरनिहित छ। संविधान संशोधनको कुरा जे विषयमा भनिएको छ, दुर्घटनाको खतरा त्यसैभित्र छ। संविधान संशोधन यो देशका मजदुर, किसान, उत्पीडित वर्ग, समुदायको हक, अधिकार बढाउनका लागि होइन, त्यो खोस्न खोजिरहेका छन्।”


त्यसैगरी ,नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले वर्तमान सरकारबाट जनताले कुनै आशा गर्न नसकेको बताए। सरकारले काम भन्दा कुरा धेरै गर्ने गरेको भन्दै सरकारबाट जनता निराश भएको बताए। जनताले वर्तमान सरकारको विकल्पको खोजी गरिरहेको उल्लेख गर्दै २०८४ मा विकल्प दिने गरी समाजवादी मोर्चालाई अगाडि बढाउनुपर्ने समेत बताए। 

समाजवादको लक्ष्य हासिल गर्दै समाजलाई रुपान्तरण गर्न समाजवादी मोर्चा एक भएर अघि बढ्नुपर्ने उनको भनाई छ। अध्यक्ष नेपालले देशमा बसेर निराश हुनुपर्ने अवस्थालाई परिवर्तन गर्न जनताको साथ चाहिने धारणा राखे। उनले नेपालमा समाजवादको जित सम्भव रहेको बताए। 


समाजवादी मोर्चा नेपालले मंगलबार काठमाडौंमा ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभा आयोजना गरेको थियो। उक्त कार्यक्रममा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरूले सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img

छुटाउनुभयो कि ?