भारत । कलकत्तामा भएकाे महिला चिकित्सकको बलात्कार र विभत्स हत्यामा संलग्नमाथि कारबाही गर्नुपर्ने माग राख्दै आंदोलन चर्किएको छ । उक्त आन्दोलित प्रदर्शनले उग्र रुप लिनसक्ने संकेत देखिए पछि गृह मन्त्रालयले देशभरका प्रहरी कार्यालयलाई शान्ति सुरक्षाको अवस्था काबु बाहिर जान नदिन निर्देशन दिएको छ ।
कलकत्ताको एउटा मेडिकल कलेजमा कार्यरत महिला ट्रेनी डाक्टरमाथि भएको बलात्कार र हत्याविरुद्ध विश्वभरि न्यायको आवाज बुलन्द भइरहेको बेला भारतको चिकित्सकहरुले देशभरि प्रदर्शन र हडताल गरेका छन् । इमर्जेन्सी बाहेक अन्य सबै क्लिनिक र अस्पताल सेवा ठप्प पारेर करिब १० लाख चिकित्सक सडकमा ओर्लेका छन् ।
मन्त्रालयले सबै प्रहरी कार्यालयलाई आफ्नो कार्यक्षेत्रको अबस्था बारे हरेक दुई घण्टामा माथिल्लो निकाय र गृह मन्त्रालयको कन्ट्रोल रुमलाई जानकारी गराउन आदेश दिएको छ । त्यस्तो जानकारी इमेल,फ्याक्स वा ह्वाट्सएपमा दिनुपर्ने र समाजको सुरक्षा अवस्थालाई नजिकबाट नियाल्दै परिस्थितिलाई काबु बाहिर जान नदिन आवश्यक व्यवस्थापन गर्नुपर्ने छ ।
सामूहिक बलात्कारपछि गरिएको क्रुर हत्याबाट ज्यान गुमाएकी डाक्टर र उनको परिवारलाई न्याय दिलाउन माग गर्दै डाक्टरहरुले २४ घण्टे हडताल गरेको बताएका छन् । हिजो बिहानदेखि गरिएको हड्ताल सरकारले छानबिन कमिटी बनाउने आश्वासन दिएपछि आज बिहान ६ बजे अन्त्य भएको छ ।