महेन्द्रनगर । राप्रपा कञ्चनपुरले पूर्व राजा महेन्द्रको सालिक राख्ने भनेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पौष ४ सम्म निषेधाज्ञा जारी गरेको छ । प्रशासनले भीमदत्त नगरपालिका ४ महेन्द्रनगर संविधान चोक क्षेत्रमा मंसिर २८ गतेदेखी पौष ४ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार राप्रपाले संविधान चोक क्षेत्रमा पुर्वराजा महेन्द्रको सालिक पुर्नस्थापना गर्ने तयारी अघि बढाईरहेका बेला त्यसको विभिन्न ८ राजनीतिक दलले बिरोध गरेपछि स्थानीय प्रशासनले शान्ति सुरक्षा कडा पार्नका लागि सात दिनसम्म निषेधाज्ञा जारी गरेको हो ।
बिहीबार कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ अनुसार २८ मंसिरदेखि सातदिन सम्म निषेधाज्ञा जारी गरिएको हो । संविधान चोक क्षेत्रमा सालिक स्थापना गर्न दिने नदिने विषयमा राजनीतिक दलहरुबिच मत भिन्नता आएको सन्दर्भमा सार्वजनिक शान्ति सुरक्षालाई कायम राख्न तथा अत्याश्वयक सेवालाई सञ्चालन गर्नका लागि जिल्ला सुरक्षा समितिको सिफारिसमा स्थानीय प्रशासन ऐन ०२८ को दफा ६(३) बमोजिम २८ मंसिरदेखि ४ पुषसम्म उक्त क्षेत्रमा ५ जना भन्दा बढि मानिस जम्मा भई जुलुस, प्रदर्शन, धर्ना, घेराउ, आमसभा जस्ता आन्दोलन र बिरोधका कार्यक्रम निषेध गरिएको छ । बिहीबार महेन्द्रनगरमा राप्रपाको आमसभा तथा ०६२÷०६३ को दोस्रो जनआन्दोलनका क्रममा राजा महेन्द्रको तोडिएको सालिक पुर्नस्थापना कार्यक्रमका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही सहित कञ्चनपुर आएका थिए । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले ईतिहास राख्नका लागि सबैले पुर्व राजाको सालिक राख्न दिनुपर्ने माग अघि सारेका छन । तर, ८ राजनीतिक दलहरुले ०७२ मा नयाँ संविधान जारी भएपनि राप्रपा सहितका सर्वदलिय बैठकबाट उक्त स्थानमा संविधान चोक सहित गणतन्त्र स्मारक राख्ने निर्णय गरेको बताएका छन् ।