काठमाडौं । ६ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्ने भएको छ ।
आर्थिक वर्ष सुरु हुनु १ महिनाअघि बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार कोशी बाहेक सबै प्रदेशका अर्थमन्त्रीले आज बजेट सार्वजनिक गर्न लागेका हुन् ।
कोशी प्रदेशमा भने संसद अधिवेशन अन्त्य गरिएकाले हिजै (बिहीबार) नै अध्यादेशमार्फत बजेट ल्याइएको छ । आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तिरक मामिलामन्त्रीले बजेट भाषण गर्ने छन् ।
प्रदेश सरकारहरूले आ–आफ्नो प्रदेशअनुरूप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन् । खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा परेका छन् ।
केन्द्र सरकारले जेठ १५ गते, प्रदेश सरकारले असार १ भित्र र स्थानिय तहले असार १० गतेभित्र बजेट सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ ।














