प्रधानमन्त्री बालेन शाहको सम्बोधन (मुख्य अंशहरू)
१. विश्वलाई हिमाली चेतावनी र जलवायु संकट:
“म मानवताका लागि निकट भविष्यको गम्भीर चेतावनी बोकेर हिमालयको काखमा रहेको दूरदराजको देश नेपालबाट यहाँ उपस्थित भएको छु… आज म विकास, लोकतन्त्र र शान्तिका कुरा मात्र गर्न चाहन्थेँ, तर मैले ठूलो विनाश र जनधनको क्षतिबारे बोल्नुपरिरहेको छ। जलवायु परिवर्तनका कारण हिमनदीहरू पग्लेका छन्, पहाडी ढलानहरू कमजोर बनेका छन् र बाढी-पहिरोले सीमावारि र पारि ठूलो विपत्ति ल्याएको छ। नेपालले हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु संकटको सबैभन्दा ठूलो मूल्य चुकाउनुपरेको छ।”
२. ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ को प्रस्ताव:
“हिन्दुकुश हिमालय करिब दुई अर्ब मानिसको घर हो। यी पर्वतहरू विश्वको जीवन रक्षा प्रणालीका हिस्सा हुन्। त्यसैले पहिलो आकस्मिक कदमका रूपमा नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्ताव गर्दछु। यस संयन्त्रमार्फत भू-उपग्रह (स्याटलाइट) तथ्याङ्क र विशेषज्ञता साझा गरौँ, जोखिमयुक्त हिमतालहरूको अनुगमन गरौँ, संयुक्त पूर्वसूचना प्रणालीलाई सुदृढ बनाऔँ र विपद्का बेला सीमापार सहयोग समन्वय गरौँ। हिमालयलाई छरिएका सूचनाहरूको सिमाना होइन, अन्तर्राष्ट्रिय सहयोगको प्रयोगशाला बन्न दिऔँ।”
३. जलवायु न्याय र विश्वव्यापी व्यवस्थामाथि प्रश्न:
“हामीले नगरेको गल्तीको सजाय भोगिरहेका छौँ। जलवायु वित्त यस्तो प्रशासनिक जाल बन्नु हुँदैन, जहाँ गरिब र जोखिममा परेका देशहरूले सहयोग पाउन वर्षौंसम्म फाराम भरेर प्रमाणित गरिरहनुपरोस्। जब घरमा आगो लाग्छ, हामी ५० वटा फाराम भर्न लगाउँदैनौँ, तुरुन्तै आगो निभाउन काम गर्छौँ।”
>
४. हतियार र खाद्यान्न/अत्यावश्यक आपूर्तिको विभेद:
“विश्व व्यवस्था कस्तो बनेको छ भने— अन्तरमहादेशीय क्षेप्यास्त्रहरू समयमै पुग्छन्, हतियार र गोलीगठ्ठाले ७२ घण्टाभित्र सीमा पार गर्छन्। तर, नेपालका एक गरिब किसानले बाली लगाउने समयमा न त समयमै मल पाउँछन्, न त खाना पकाउने इन्धन नै बजार मूल्यमा खरिद गर्न पाउँछन्। हामीले युद्धका लागि चुस्त र जीवन धान्नका लागि भत्किएको आपूर्ति व्यवस्था (Logistics) निर्माण गरेका छौँ।”
>
५. नयाँ पुस्ताको सन्देश र निष्कर्ष:
“हाम्रा युवाहरूले इमानदारी, पारदर्शिता र जवाफदेहिताको नयाँ राजनीति मागेका छन्। यो केवल नेपालको कथा होइन, विश्वभरका युवाको जागरण हो। हामी विपद्पछिको राहत र पुनर्निर्माणमा मात्र सीमित नहोऊँ,बलियो पूर्वाधार बनाऔँ,जीवाश्म इन्धनमा निर्भरता घटाऔँ र पूर्वचेतावनी दिने प्रणाली सुदृढ गरौँ। जब विश्वको सर्वोच्च शिखरबाट अर्को चेतावनी आउँछ, त्यसलाई सुन्न र कार्य गर्न विश्व तयार रहोस्।”
“भगवान् पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको शान्तिको बाटोमा हिँड्न सकोस्।”














