काठमाडौं । नेकपा माओवादी केन्द्रका उप–महासचिव जनार्दन शर्मा (प्रभाकर)ले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’तर्फ सिधा संकेत गर्दै नेतृत्व हस्तान्तरणको माग गरेका छन्।
४७औँ पुष्पलाल स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै शर्माले, “७ दशकसम्म अरूलाई पालो दिनु पर्दैन?” भन्ने प्रश्न उठाउँदै पुराना नेताहरूले अब मार्गदर्शक भूमिकामा सीमित हुनुपर्ने धारणा व्यक्त गरे।
शर्माको अभिव्यक्ति पार्टी नेतृत्वप्रति असन्तोष मात्र होइन, एक प्रकारको खुला गुनासोको रूपमा देखिएको छ। उनले माओवादी आन्दोलनकै मूल दस्तावेज ‘एक्काइसौँ शताब्दीको जनवाद’मा उल्लेख गरिएको ‘मुख्य नेता सत्तामा नजाने’ सिद्धान्त लागू हुन नसकेकै कारण पार्टी दिशाहीन बनेको आरोप लगाए।
“एक्काइसौँ शताब्दीको जनवाद धेरै महान थियो, तर हामी कार्यान्वयन गर्न सकेनौँ। शान्ति प्रक्रियापछि त्यो सिद्धान्त समाप्त भयो। मुख्य नेता सत्तामा नजाने भनिएको थियो, तर त्यो भएन, माओवादी त्यहीँबाट विग्रियो,” उनले गुनासो गरे।
उनले पुराना नेताहरूको निरन्तर सत्तासीन प्रवृत्तिलाई आलोचना गर्दै नयाँ पुस्तालाई नेतृत्व दिनुपर्ने र प्रतिस्पर्धाबाट चयन हुने प्रणाली विकास गर्नुपर्नेमा जोड दिए। “समाजवाद आफैँबाट लागू गर्नु पर्छ, लोकतान्त्रिक हुनुपर्छ। प्रतिस्पर्धामा निर्वाचित नेतृत्व आजको आवश्यकता हो,” शर्माले भने।
उनले पार्टीभित्र लोकतान्त्रिक अभ्यासको आवश्यकता औंल्याउँदै, हरेक कमिटी निर्वाचित हुने प्रणाली कम्युनिस्ट पार्टीमा विकास गर्नुपर्ने धारणा पनि राखे। साथै, उनले एकमानवाद र निरंकुश प्रवृत्तिको अन्त्य जरुरी रहेको बताए।
शर्माले समाजवादको मार्गमा अघि बढ्न कम्युनिस्ट आन्दोलनको एकता र ध्रुवीकरण अपरिहार्य भएको बताए। उनले समाजवाद माथिबाट होइन, जरा र जनताबाट लागू गरिनुपर्ने पक्षमा स्पष्ट विचार राखे।
जनार्दन शर्माको यो अभिव्यक्ति माओवादी केन्द्रभित्र बढ्दो वैचारिक असमझदारी र नेतृत्वप्रति बढ्दो असन्तोषको संकेतका रूपमा हेरिएको छ। नयाँ पुस्ताको नेतृत्व र आन्तरिक सुधारबारेको यो गुनासो पार्टीभित्र बहसको नयाँ तरंग ल्याउने देखिन्छ।














