भक्तपुर, । मध्यपुर थिमी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३ अर्ब २५ करोड रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। सोमवार नगर प्रमुख सुरेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको १२औं नगरसभा बैठकमा प्रमुख श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो भने उपप्रमुख विजयकृष्ण श्रेष्ठले बजेट सार्वजनिक गर्नुभयो।
नगर प्रमुख श्रेष्ठले सुशासन, गुणस्तरीय सार्वजनिक सेवा, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, सिप विकास, रोजगारी सृजनाजस्ता विषयलाई नीति तथा कार्यक्रमको प्राथमिकतामा राखिएको जानकारी दिनुभयो। उहाँले नगरको मूर्त-अमूर्त संस्कृति, सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनलाई आर्थिक समृद्धिको माध्यम बनाउने योजना प्रस्तुत गर्नुभयो।
उहाँले भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति अपनाइने, गुनासो सुन्ने र सम्बोधन प्रणाली प्रभावकारी बनाइने, परम्परागत शैलीमा घर बनाउनेलाई अनुदान र सहुलियत दिइने तथा सार्वजनिक सडकलाई पार्किङ निषेधित क्षेत्र घोषणा गरिने जानकारी दिनुभयो।
शिक्षाको क्षेत्रमा नसिङ कलेज, पारामेडिक्स कोर्स, ई–लाइब्रेरी सहितको पुस्तकालय स्थापना गरिने तथा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने उल्लेख छ। साथै, बालश्रममुक्त तथा बालमैत्री स्थानीय शासन घोषणा, रोजगारी तथा उद्यमशिलता प्रवर्द्धन, लैङ्गिक सशक्तिकरण र हिंसा विरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गरिनेछ।
स्वास्थ्य क्षेत्रमा स्वास्थ्य बिमा विस्तार, क्षयरोगमुक्त अभियान, लागूऔषध नियन्त्रण, आत्महत्या रोकथाम, मानसिक स्वास्थ्य प्रवर्द्धन, तथा नेपाल-कोरिया मैत्री नगरपालिका अस्पताललाई देशकै नमूना अस्पताल बनाउने योजना अघि सारिएको छ।
कृषिमा कौशी खेती प्रवर्द्धन, व्यवसायिक कृषि, कृषकलाई अनुदान, पशु वधस्थलको वैज्ञानिक व्यवस्थापन, घरेलु तथा साना उद्योग प्रवर्द्धन, सहकारी सशक्तिकरण र जोखिम न्यूनीकरणका कार्यक्रमहरू समावेश छन्।
पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण, पार्क तथा पोखरीहरूको सौन्दर्यकरण, परम्परागत नामहरूको अभिलेखीकरण र पुनःस्थापनालाई निरन्तरता दिइने जनाइएको छ।
३ अर्ब २५ करोड ६६ लाख ७० हजारको बजेट
उपप्रमुख श्रेष्ठले सार्वजनिक गर्नुभएको कुल ३ अर्ब २५ करोड ६६ लाख ७० हजार १ सय रुपैयाँको बजेटमा विभिन्न शीर्षकहरूमा विनियोजन गरिएको छ। नगरपालिकाको सञ्चिती कोषबाट १ अर्ब ५२ करोड ८३ हजार ५ सय रुपैयाँ, कमेरोटार जग्गा एकिकरण आयोजनाबाट ७० करोड २३ लाख १३ हजार ७ सय, सिन्टिटार आयोजनाबाट २० करोड ४० लाख १७ हजार १ सय, कोरिया मैत्री अस्पतालबाट ६० करोड ३२ लाख ५५ हजार ८ सय, सडक बोर्डबाट ७० लाख र सामाजिक सुरक्षाभत्ता तर्फ २२ करोड विनियोजन गरिएको छ।
यस मध्ये पुँजीगत खर्चतर्फ ५१.१६ प्रतिशत अर्थात् ७७ करोड ७७ लाख २८ हजार ५ सय र चालु खर्चतर्फ ४८.८४ प्रतिशत अर्थात् ७४ करोड २३ लाख ५५ हजार रुपैयाँ छुट्याइएको छ।
बजेटका स्रोतहरू
बजेटका मुख्य स्रोतहरूमा आन्तरिक आयबाट ३७ करोड २४ लाख ५७ हजार ९७९, राजस्व बाँडफाँडबाट ४० करोड १३ लाख ७५ हजार ५२१, संघीय सरकारबाट ६० करोड ५३ लाख, बागमती प्रदेश सरकारबाट ७ करोड ९ लाख ५० हजार तथा लागत सहभागिताबाट १ करोड रुपैयाँ आम्दानीको अनुमान गरिएको छ।
मध्यपुर थिमी नगरपालिकाले ल्याएको यो नीति, कार्यक्रम र बजेटले समावेशी विकास, आर्थिक समृद्धि र सांस्कृतिक संरक्षणलाई सँगसँगै अघि बढाउने अपेक्षा गरिएको छ।














