काठमाडौं । शुक्रबार राति आएको भूकम्पमा परि ज्यान गुमाएकामध्ये १२० जनाको शव आफन्तलाई बुझाइएको छ । जाजरकोट र रुकुम पश्चिममा मृत्यु भएका १५७ जनामध्ये १२० जनाको शव पहिचान गरि आफन्तलाई बुझाइएको नेपाल प्रहरीले जनाएको हो । ३७ जनाको शव भने बुझाउन बाँकी रहेको छ ।
भूकम्पमा परी जाजरकोटमा १०५ जनाको मृत्यु भएको छ भने १०६ जना घाइते भएका छन् । त्यसै गरी रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ भने १३२ जना घाइते भएका छन् । त्यसै गरी दैलेखमा ३ जना, जुम्लामा ३ जना, सल्यानमा २ जना, प्युठानमा ३ जना, बैतडीमा घाइते ३, रोल्पा र दाङमा एक एक जना गरी जम्मा २५४ जना घाइते भएका छन् ।