काठमाडौँ । नेपालका विभिन्न जिल्लाबाट हराएका सात बालबालिकाको भारतबाट उद्धार गरिएको छ ।
दार्चुलाको १५ वर्षीया,पाल्पा र पर्साका १६ वर्षीया बालिका तथा रौतहटका १३ वर्षीय दुई बालक , महोत्तरी र अर्घाखाँचीका १६ वर्षीया बालकको उद्धार गरिएको हो ।
विगत छ वर्षदेखि मानव बेचबिखनविरूद्ध कार्यरत सामाजिक संस्था केआइएन इन्डियाले भारतका विभिन्न स्थानबाट उद्धार गरिएका चार बालक र तीन बालिकालाई सुनौली नाका हुँदै शनिबार स्वदेश फिर्ता गराएको हो ।
१ देखि ६ महिनाको अवधिमा हराएका बालबालिकालाई भारतीय प्रहरीको सहयोगमा विभिन्न स्थानबाट उद्धार गरिएको जनाइएको छ । बालबालिकाको उद्धार र स्वदेशफीर्तिमा प्रत्यक्ष संलग्न संस्था केआइएनका निर्देशक नवीन जोशीका अनुसार ती बालबालिकामध्ये तीनजना बालकको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मीना पौडेल र जिल्ला प्रहरी कार्यालय रूपन्देहीको रोहबरमा पारिवारिक पुनःमिलन गराइएको छ ।
एक बालकलाई बालबालिका खोजतलास केन्द्रमा राखिएको छ । तीन बालिकालाई रुपन्देहीको एक आवास गृहमा राखिएको छ । बालबालिका भारतसम्म के कसरी पुगे भन्नेबारे थप अनुसन्धान प्रक्रियाका लागि बालिकालाई आवस गृहमा राखिएको हो । उद्धार गरिएकामध्ये दार्चुलाकी बालिका घरबाट भागेर हिँडेको र दिल्लीको मेट्रो स्टेशनमा फेला पािरएको केआइएनका निर्देशक जोशीले जानकारी दिनुभयो ।
उनका अनुसार पाल्पाकी बालिकालाई लागूऔषध प्रयोगकर्ताले सीमा नाकामा भएको चेकजाँचमा बुहारी भनेर परिचय दिएको थियाे। ती बालिकालाई रेलवे स्टेशनबाट उद्धार गरिएको हो । पर्साकी बालिका दिल्लीमा खोजतलास गर्ने क्रममा खाली कोठामा बन्धक बनाएर राखिएको अवस्थामा फेला पारिएको थियो । चारैजना बालकलाई दिल्लीबाट उद्धार गरिएको केआइएनले जनाएको छ । “प्रहरी तथा भारतस्थित नेपाली दूतावासले केआइएन इन्डियालाई केश फरवार्ड गर्नुहुन्छ । त्यही आधारमा काम गछाैँ”, निर्देशक जोशीले भन्नुभयो, “भेटिनेभन्दा नभेटिने बालबालिकाको सङ्ख्या धेरै छ ।” सन् २०१८ देखि अहिलेसम्म केआइएनले पाँच सय बढी महिला तथा बालबालिका उद्धार गरेको जनाएको छ ।