एउटै कसूरमा पक्राउ परेका सांसदलाई र अन्य चिकित्सकलाई काठमाण्डौं जिल्ला अदालतले फरक फरक आदेश दिएको छ । शुक्रबार साँझ जिल्ला अदालतले सांसदलाई थुनामुक्त गरेर अनुसन्धान गर्न र अरु चिकित्सकलाई थुनामै राखेर अनुसन्धान गर्न आदेश दियो ।
नक्कली शैक्षिक प्रमाणपत्र कसूरमा पक्राउ परेका सात जना चिकित्सकलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जिल्ला अदालतमा उपस्थित गराएको थियो। उनीहरू मध्ये एक थिए कांग्रेस सांसद सुनिल शर्मा । अरूलाई हिरासतमा राखेर अनुसन्धान गर्न भने पनि जिल्ला अदालत काठमाण्डौका न्यायाधीश दण्डपाणि शर्माको इजलासले नेपाली कांग्रेसका सांसद शर्मालाई थुनामुक्त गर्न भन्यो । उनलाई तारेखमा राखेर अनुसन्धान गर्न अनुमति मिलेको जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौंका प्रमुख अच्युतमणि नेउपानेले बताए।
शर्मा सहित चिकित्सकहरुको प्रमाणपत्र नक्कली भएको आरोपमा सीआईबीले उनीहरूलाई पक्राउ गरेको हो । शर्मा हिजो साँझ नै रिहाई अदालतको आदेश पछि रिहा भइसकेका छन् । सीआईबीले शर्मालाई साउन २५ गते काठमाडौंको गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको थियो।
रिहापछि शर्माले दिए केपी ओलीलाई धन्यवाद , गृहमन्त्रीको मागे राजीनामा :
नेपाली कांग्रेसका सांसद सुनिल शर्माले रिहा भएसँगै गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । शर्मा पक्राउ परेको दोस्रो दिनमा नै थुनामुक्त भएका हुन् । थुनामुक्त भएपछि शर्माले गृहमन्त्री नारायणकाजी श्रेष्ठको फेरि राजीनामा मागेका छन् ।
उनले प्रधानमन्त्री पुष्कमल दाहालको भूमिकालाई लिएर पनि आलोचना गरेका छन् । उनले भने,‘त्यति सारो बैगुनी पनि हुनु हुँदैन । नेपालको इतिहासमा सुनिल शर्मा, शेखर कोइराला, कृष्ण इच्छुक, महेश्वर दाहालजस्ता मानिस नभएको भए आज पनि उहाँ जंगलमा हुनुहुन्थ्यो । पहिलो वार्ता गराउने मान्छे हामी हो । हामीले लगाएको गुनको पैँचो हतकडी लगाएर दिनुभएको छ । यसका लागि धन्यवाद भन्न चाहन्छु । पावरको उन्माद हो यो ।’
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग एक सेकेण्ड पनि पदमा बस्ने अधिकार नभएको भन्दै राजीनामा मागे । उनले गृहमन्त्रीलाई नहटाए अहिलेको सरकार ढल्ने पनि चेतावनी दिएका छन् । उनले भने,‘यस्तो आतंककारी गृहमन्त्रीले एक मिनेट, एक सेकेन्ड सत्तामा बस्न मिल्दैन । प्रधानमन्त्री यदि गृहमन्त्री टिकाउन लाग्नुभयो भने सरकार ढल्छ ।’
शर्मा माओवादी केन्द्रसँग नै आक्रोशित बने । उनले कांग्रेसले माओवादीसँगको गठबन्धन नै तोड्नुपर्ने धारणा राखे । आफूले अब त्यसको लागि पहल गर्ने उनको संकेत थियो । उनले भने,‘यसरी नै गृहमन्त्रीले एक बाइ एक गरेर हाम्रा नेतालाई धुलो चटाउँदै जाने र हाम्रो पार्टी अलाइन्स गरिरहने हो भने पार्टी सकिन्छ । तत्काल पुनर्विचार गर्नुपर्छ ।’
उनले आफूलाई रिहा गर्नको लागि एमालेले खेलेको भूमिकाको भने प्रशंसा गरे । उनले नेताहरु शेखर कोइराला, गगन थापासँगै केपी ओलीको नाम लिएर जिन्दावादको नारासमेत लगाए ।