काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईबीच छलफल भएकाे छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न भारत भ्रमण,सङ्घीय बजेट,सत्यनिरुपण तथा मेलमिलाप आयोग लगायतका शान्ति प्रक्रियाका बाँकी कार्यलगायतका विषयमा महत्वपूर्ण विचारविमर्श भएको हाे ।
शुक्रबार बिहान भएको भेटमा प्रस्तावित समाजवादी मोर्चालगायतका विविध विषयमा कुराकानी भएको पूर्वप्रधानमन्त्री डा.भट्टराईले जानकारी दिए । उनका अनुसार हालसम्म प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिको रक्षा गर्दै समाजलाई निरन्तर अग्रगमनको दिशामा लैजानका लागि बृहत् समाजवादी मोर्चा निर्माण गर्न विचार, नीति,कार्यक्रम,सङ्गठनात्मक विधि टुङ्गो लगाउने विषयमा सहमति भएको छ ।
सो विषयमा सम्भव सबै पक्षबीच गम्भीर छलफल गर्दै अघि बढ्ने समझदारीसमेत भएको जानकारी दिँदै उनले भने,“हामीबीच समझदारी भएको छ,बाहिर चलेका हल्लामा नबग्न सबैसँग आग्रह गर्दछु ।”














