२१ माघ २०८२, बुधबार
२१ माघ २०८२, बुधबार

भक्तपुरमा ३५ हजारभन्दा बढी विद्यार्थी लक्षित मुटु परीक्षण शिविर

भक्तपुर,। भक्तपुर नगरपालिकाले संस्थागत तथा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि चारदिने विद्यालयस्तरीय मुटु परीक्षण शिविर सञ्चालन गर्ने भएको छ । मित्रराष्ट्र चीनको युनान प्रान्तस्थित फुवाई युनान कार्डियो भास्कुलर अस्पतालमा कार्यरत विशेषज्ञ चिकित्सकहरूको सहभागितामा शिशु कक्षादेखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरूको मुटु परीक्षण गरिने नगरपालिकाले जनाएको छ ।

शिविर सञ्चालनका सन्दर्भमा नगरपालिकाले विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपलहरूको भेला सम्पन्न गरिसकेको छ । उक्त भेलामा शिविरको उद्देश्य, कार्यविधि र विद्यालयहरूको भूमिका सम्बन्धी जानकारी गराइएको थियो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शिक्षा र स्वास्थ्य क्षेत्रलाई नगरको प्राथमिकतामा राखिएको उल्लेख गर्दै सामुदायिक र निजी विद्यालयहरूलाई शैक्षिक गुणस्तरमा समान रूपमा अघि बढाइएको बताए । “स्वस्थ नागरिक बिना समृद्ध नगरको कल्पना गर्न सकिँदैन,” उनले भने, “त्यसैले नगरपालिकाले प्रत्येक नागरिकलाई स्वस्थ बनाउने लक्ष्यसहित स्वास्थ्य क्षेत्रमा विशेष जोड दिँदै आएको छ।”

उनले जापान सरकारको प्राविधिक सहयोगमा श्वासप्रश्वास पुनःस्थापना केन्द्र सञ्चालन भइरहेको जानकारी दिँदै भक्तपुरलाई व्यवस्थित उपचार सुविधा भएको र स्वस्थ नागरिक बसोबास गर्ने नगर बनाउने दीर्घकालीन सोच रहेको बताए ।

नगरपालिका वडा अध्यक्ष रविन्द्र ज्याख्वका अनुसार शिविरमा करिब ३५ हजार ८ सय ८० जना विद्यार्थी सहभागी हुनेछन् । नगर शिक्षा शाखा प्रमुख साधुराम फुयालले शिक्षा र स्वास्थ्यलाई एउटै सिक्काका दुई पाटा भएको उल्लेख गर्दै बालबालिकाको नियमित मुटु परीक्षणले सम्भावित स्वास्थ्य जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
चीनको खुनमिङ चिकित्सा विश्वविद्यालयमा जनस्वास्थ्य विषय अध्ययनरत कृष्ण गरुले शिविरको उद्देश्य र महत्वबारे जानकारी गराउँदै मुटु परीक्षण गरिएका विद्यार्थीहरूमध्ये गम्भीर समस्या देखिएका बालबालिकालाई निःशुल्क उपचारको व्यवस्था गरिने जानकारी दिए ।

नगरपालिकाका अनुसार शिविर पुस ८, ९, १० र ११ गतेसम्म सञ्चालन हुनेछ । प्रारम्भिक अवस्थामै बालबालिकाको मुटुसम्बन्धी समस्या पहिचान गरी भविष्यमा हुने जटिल रोगबाट जोगाउने उद्देश्यले आयोजना गरिएको यो शिविरले विद्यार्थीहरूको दीर्घकालीन स्वास्थ्य सुरक्षामा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

छुटाउनुभयो कि ?