गोकर्णेश्वर । कर्णेश्वर नगरपालिकाका सामुदायिक विद्यालयमा कार्यरत विज्ञान शिक्षकहरूलाई आधुनिक डिजिटल सीप र प्रविधिमा सशक्त बनाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)ले एक दिने विशेष तालिम सम्पन्न गरेको छ। नास्टअन्तर्गतको विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्र (सूचना पहुँच केन्द्र)द्वारा आयोजित “Enabling Modern Teachers Through Effective Tools and Techniques” शीर्षकको तालिममा विज्ञान शिक्षकहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।

तालिममा सहभागी शिक्षकहरूले कक्षाकोठामा Artificial Intelligence (AI) का विभिन्न उपकरण र प्रविधिहरू कसरी प्रयोग गर्ने, शिक्षण–शिक्षणलाई कसरी सहज, सरल र आधुनिक बनाउन सकिने भन्ने विषयमा व्यवहारिक तथा विस्तृत ज्ञान प्राप्त भएको प्रतिक्रिया दिए।

सहभागीहरूले AI मार्फत विद्यार्थीका आवश्यक शैक्षिक सामग्रीहरू छिटो र सहज रूपमा उपलब्ध गराउने सीप आत्मसात् गर्न पाएको उल्लेख गर्दै तालिमले विद्यार्थीको डिजिटल बुझाइ र प्रविधि–अभिगम क्षमतामा समेत सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेकाे नास्टका सुचना पहुंच केन्द्र (Information Access Centre, IAC ) का प्रमुख
प्रदीप ढोडारीले बताए।

कार्यक्रममा विज्ञान तथा प्रविधि सूचना प्रणाली केन्द्रकी प्रमुख डा. विमला देवी देवकोटाको अध्यक्षता रहेको थियो। तालिमको आवश्यकता, महत्व तथा नास्टले अघि सारेका प्रविधि–मुखी शैक्षिक पहलबारे प्रकाश पार्दै प्रमुख अतिथि तथा नास्टका सचिव डा. रविन्द्र प्रसाद ढकालले आधुनिक शिक्षणमा AI को भूमिकामा जोड दिए।
AI आधारित उपकरणको प्रयोगले शिक्षकलाई सहज रूपमा प्रश्नपत्र निर्माण गर्न तथा विद्यार्थीलाई डिजिटल उपकरण र AI टुलबारे व्यवस्थित ज्ञान दिन सहयोग पुग्ने बताउँदै पाठ्यक्रम निर्माण टोलीका सदस्य तथा कम्प्युटर विज्ञान पुस्तकका लेखक सुनिल कुमार घर्तीले तालिमको उपयोगितामाथि प्रकाश पारे।
तालिममा कम्प्युटर विज्ञान शिक्षक तथा प्रशिक्षक राहुल महथा र अनुपराज पौड्यालले आधुनिक डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोगबारे प्रत्यक्ष अभ्याससहित मार्गदर्शन प्रदान गरेका थिए।

नास्टले हरेक शुक्रबार सञ्चालन गर्दै आएका यस्ता तालिमले शिक्षकलाई अत्याधुनिक प्रविधिको उचित उपयोगमार्फत कक्षा–कक्षालाई अझ सहभागीमुखी र प्रभावकारी बनाउने ज्ञान र सीप प्रदान गर्दै शिक्षण–शिक्षणको समग्र स्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजक र सहभागी दुवैले व्यक्त गरेका छन्।



