रामपुर-नेपाल एक्वाकल्चर एण्ड फिसरिज स्टुडेन्ट्स एसोसिएसन (नाप्सा) र कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) को संयुक्त आयोजनामा विश्व मत्स्य दिवस २०२५ विभिन्न कार्यक्रमसहित रामपुरमा भव्य रूपमा मनाइएको छ। “जलीय जैविक विविधता प्रवर्द्धन, खाद्य तथा पोषण सुरक्षामा सम्बर्द्धन” नाराका साथ मनाइएको दिवस नेपाल मत्स्य समाज, अन्नपूर्ण माछा दाना उद्योग, मनहरी विकास संस्था (MDI) तथा MADE NEPALको सहआयोजनमा सम्पन्न हो।

दिवसको सन्दर्भमा नाप्साले नोभेम्बर १६ देखि २१ सम्म फोटो प्रतियोगिता, विद्यालय–कलेज अभिमुखीकरण कार्यक्रम तथा अनलाइन वेबिनारसहितका जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरेको थियो। यस्ता कार्यक्रमले विद्यार्थी तथा सर्वसाधारणमा माछा उपभोग, पोषण, जलस्रोत संरक्षण तथा जैविक विविधताबारे जागरूकता बढाएको नाप्साले जनाएको छ।

नोभेम्बर २१ मा फिसरीज परिसरमा भएको औपचारिक कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, सरकारी तथा गैरसरकारी प्रतिनिधि, दाना उद्योगका व्यवसायी, स्थानीय जनप्रतिनिधि तथा विद्यार्थीहरूको उपस्थिति उल्लेखनीय थियो। प्रमुख अतिथि एसोसिएट प्रोफेसर राजेन्द्र बाश्यालले माछाको बजार महत्त्व, उपभोक्ता स्वास्थ्यमा यसको योगदान तथा ओमेगा–३ फैटी एसिडको वैज्ञानिक मूल्यबारे प्रकाश पार्दै मत्स्य क्षेत्रलाई प्रविधि र अनुसन्धानसँग जोड्नुपर्ने बताए।

कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रो. माधव कुमार श्रेष्ठले एक्वाकल्चर र फिसरीज क्षेत्रलाई समानान्तर रूपमा सुदृढ बनाउन विश्वविद्यालयले दीगो योजना अगाडि सारेको बताए। नेपाल मत्स्य समाजकी अध्यक्ष तथा विश्वविद्यालयकी प्राध्यापक सुनीला राईले यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता, व्यवहारिक दक्षता र आत्मविश्वास बढाउन मद्दत गर्ने धारणा व्यक्त गरिन्। उनले आगामी फेब्रुअरी २ मा काठमाडौंमा हुने विश्व रामसार दिवस कार्यक्रममा सक्रिय सहभागिताका लागि पनि आह्वान गरिन्।
कार्यक्रमका क्रममा फोटो प्रतियोगिताका विजेता अमिषा अधिकारी, रक्षा चौधरी र परिधी पोखरेललाई पुरस्कार तथा कदरपत्र प्रदान गरियो। सहआयोजक संस्था, सहयोगी निकाय तथा स्वयंसेवकहरूलाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको थियो।

समापन सत्रमा नाप्साका अध्यक्ष सागर पाण्डेले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै जलीय जैविक विविधता संरक्षण, पोषण वृद्धि र जलस्रोतको दीगो उपयोगमा सबैको भूमिका महत्वपूर्ण हुने बताए। समापनपछि माछाका विभिन्न परिकारहरू खाजाका रूपमा वितरण गरिएको थियो, जसले सहभागीहरूलाई दिवसको विषयवस्तु प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेकाे थियो ।



