भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा सञ्चालित ‘चाँगुनारायण सिटी, एभोकाडो सिटी’अभियानले सामूहिक एकताको राष्ट्रिय सन्देश दिएको पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् । शुक्रबार तीन वर्षे घोषित कार्यक्रमको समापन समारोहमा बोल्दै उनले नागरिकस्तरबाट पनि ठूला अभियान सफल बनाउन सकिने उदाहरण यो अभियानले प्रस्तुत गरेको उल्लेख गरे।
उनले अन्य पालिकामा पनि औचित्य र आवश्यकताको आधारमा सामाजिक तथा आर्थिक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए। कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापामगरले भौतिक पूर्वाधारलाई मात्र विकास मान्ने मानसिकता तोड्दै स्वास्थ्य र समृद्धिमा योगदान गर्ने सफल अभियानको रुपमा एभोकाडो परियोजनाको प्रशंसा गरे।
‘एक घर, दुई बोट एभोकाडो’ रोप्ने उद्देश्यसहित अर्थराजनीतिका जानकार डिपी ढकालको परिकल्पना र मार्गनिर्देशनमा २०८० साउनदेखि सुरु गरिएको अभियान अन्तर्गत हालसम्म १० हजारभन्दा बढी घरमा २१ हजार एभोकाडोका बिरुवा रोपिएका छन्। करिब ३ सय अभियन्ता सक्रिय सहभागी रहँदै स्थानीयलाई प्राविधिक तथा बजार व्यवस्थापनमा सहयोग गरिरहेका छन्।
समापन समारोहमा महिला समूहले उत्पादन गरेका घरेलु सामग्रीको प्रदर्शनी गरिएको र सक्रिय अभियन्ताहरूलाई सम्मान गरिएको थियो।



