बझाङ । जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) खगेन्द्र धवलाले सोमबार जिल्ला कारागार बझाङको निरीक्षण गरेका छन्। कारागारको भौतिक अवस्था,सुरक्षाको उपाय, कैदीबन्दीहरूको जीवनस्तर तथा व्यवस्थापनबारे जानकारी लिन गरिएको यस निरीक्षणमा स्थानीय सञ्चारकर्मीहरू पनि सहभागी थिए ।
निरीक्षणको क्रममा डिएसपी धवलाले कारागार प्रशासनसँग विशेष छलफल गर्दै सुधार,मानव अधिकारको संरक्षण तथा सुरक्षाको सुदृढीकरणमा विशेष ध्यान दिनुपर्ने बताए । उनले भने,”कारागारलाई केवल सजायको स्थान होइन,सुधारको थलो बनाउनेतर्फ केन्द्रित हुनु आवश्यक छ ।”
प्रहरीका अन्य अधिकारीहरू,कारागार प्रशासनका प्रतिनिधिहरू तथा पत्रकारहरूको सहभागितामा सम्पन्न निरीक्षणपछि डिएसपी धवलाले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रहरी प्रशासन पारदर्शी,उत्तरदायी र सुधारमुखी बनाउन सञ्चार क्षेत्रको भूमिका निर्णायक हुने उल्लेख गरे ।
“समाज रूपान्तरणमा कारागार सुधार अपरिहार्य छ,” डिएसपी धवलाको भनाइ थियो ।














