कोहलपुर । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रवक्ता प्रकाण्ड सीले देशको जटिल राजनीतिक तथा आर्थिक संकट समाधानका लागि नयाँ राजनीतिक मार्गचित्र आवश्यक रहेको बताउनुभएको छ।
मंगलवार क्रान्तिकारी कम्युनिष्ट पार्टीका नेता–कार्यकर्तासँग कोहलपुरमा भएको भेटघाटका क्रममा उहाँले देश गम्भीर मोडमा पुगेको र वर्तमान सत्ताले समस्याको समाधान गर्न असफल भएकाले अब अग्रगामी विकल्प खोज्नुपर्ने धारणा राख्नुभयो।
“देश आज गहिरिँदो संकटमा छ। सत्ता सञ्चालन गर्ने शासकहरू पूर्ण रूपमा असफल छन्। अबको समाधान समाजवाद, नयाँ नेतृत्व र नयाँ राजनीतिक नीतिले मात्र दिन सक्छ,” उहाँले भन्नुभयो।
उहाँले विदेशी हस्तक्षेपका विरुद्ध उभिन र जनताको समस्याको समाधान गर्न “नयाँ पोलिटिकल रोडम्याप” खोज्नुपर्नेमा जोड दिनुभयो। साथै, उहाँले क्रान्तिकारी कम्युनिष्ट शक्ति र प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको आवश्यकता औंल्याउनु भयो।
प्रवक्ता प्रकाण्डले प्रचण्ड नेतृत्वको नेकपा जस्तो संसदवादी धारमा नजाने स्पष्ट गर्दै आउँदो २०८४ सालको निर्वाचनलाई क्रान्तिको एउटा मोर्चाका रूपमा प्रयोग गरिने बताउनुभयो।
“हामी साम्राज्यवादको चौतर्फी हमलाविरुद्ध लडिरहेका छौं। त्यसैले क्रान्तिकारीहरूले सबै मोर्चाबाट लड्नुपर्छ – चुनावसमेत प्रयोगको मोर्चा हो। केवल वहिष्कारले समाधान हुँदैन, दलालहरूलाई बैधानिकता दिलाउने काम मात्र हुन्छ,” उहाँले स्पष्ट पार्नुभयो।
उहाँले २१औं शताब्दीको साम्राज्यवाद २०औं शताब्दीको जस्तो नभएको भन्दै अहिलेको बहुध्रुवीय विश्व परिप्रेक्ष्यमा नयाँ रणनैतिक सोच आवश्यक रहेको उल्लेख गर्नुभयो।
देशमा बढ्दो निराशा, बेरोजगारी, वैदेशिक पलायन र राष्ट्रियतामाथिको संकटको उल्लेख गर्दै उहाँले यी सबै समस्याको दिगो समाधान समाजवादबाहेक अरु विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो।
यसरी प्रवक्ता प्रकाण्डले अहिलेको राजनीतिक गतिरोध, चुनावप्रति क्रान्तिकारी सोच र समाजवादी विकल्पको पक्षमा प्रस्तुत विचारले आगामी दिनमा वैकल्पिक राजनीतिक बहसलाई तीव्र बनाउने संकेत देखिएको छ।














