काठमाडौं । समाजवादी मोर्चा, नेपालले आज आयोजित पत्रकार सम्मेलनमार्फत देशको वर्तमान राजनीतिक परिस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा नेपाली विशेषताको समाजवादको दिशामा अघि बढ्नका लागि सशक्त आन्दोलनको घोषणा गरेको छ।
पत्रकार सम्मेलनमा समाजवादी मोर्चाका शीर्ष नेताहरूले हाल देशमा भ्रष्टाचार, दलाल पूँजीवाद, कालोबजारी तथा सरकारको स्वेच्छाचारिताका कारण आम जनतामा व्यापक असन्तोष बढेको उल्लेख गरे। साथै, प्रतिगामी तथा पुनरुत्थानवादी शक्तिहरू गणतन्त्र उल्ट्याउने षड्यन्त्रमा लागेको भन्दै उनीहरूलाई परास्त गर्न राष्ट्रिय स्तरको एकता आवश्यक रहेको बताए ।

मोर्चाका नेताहरूले २३८ वर्ष लामो सामन्ती शासनको अन्त्य गर्न नेपाली जनताले गरेका बलिदानहरूको स्मरण गर्दै १० वर्षे जनयुद्ध, १९ दिने जनआन्दोलन, मधेश आन्दोलन, थरुहट आन्दोलन, आदिवासी, दलित, महिला तथा उत्पीडित समुदायका संघर्षहरू ऐतिहासिक उपलब्धिहरूका आधारस्तम्भ रहेको बताए। यी संघर्षहरूको बलमा स्थापना भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाली जनताको अभूतपूर्व उपलब्धि भएको भन्दै यसको रक्षा र सुदृढीकरण आवश्यक रहेको तर्क गरे।
प्रस्तुत गरिएको विज्ञप्ती द्वारा वर्तमान सरकार लोकतान्त्रिक मूल्य मान्यताको उपहास गर्दै संसदलाई निष्क्रिय पार्न खोजिरहेको छ । अध्यादेशमार्फत शासन चलाउने प्रवृत्ति, भ्रष्टाचारको संरक्षण, कालोबजारीको मौलाउँदो प्रवृत्तिले देशलाई अस्थिरतातर्फ धकेलिरहेको आरोप लगाइयो। साथै, सरकारको कुशासनका कारण आम नागरिकको जीवनस्तर दिनप्रतिदिन कमजोर बन्दै गएको तथा संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा परेको निष्कर्ष पत्रकार सम्मेलनमा प्रस्तुत गरियो ।
गणतन्त्रलाई असफल बनाएर पुन : राजतन्त्र स्थापनाको षड्यन्त्र भैरहेको भन्दै समाजवादी मोर्चाले यसका विरुद्ध सशक्त प्रतिवाद गर्ने प्रतिबद्धता व्यक्त गर्यो। राष्ट्रिय स्वाधीनता र जनताको अधिकार संरक्षणका लागि संसदभित्र र बाहिरका सबै लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै प्रतिगमनविरुद्धको संयुक्त आन्दोलन सञ्चालन गर्ने मोर्चाले घोषणा गर्यो।
यसै क्रममा, समाजवादी मोर्चाले प्रतिगामी षड्यन्त्रलाई परास्त गर्न तथा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न २०८१ चैत १५ गते (शुक्रबार) काठमाडौंमा विशाल जनसभा तथा विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। उक्त जनसभामा समाजवादी मोर्चाका सम्बद्ध राजनीतिक दलहरू, नागरिक समाज, बुद्धिजीवी तथा न्यायप्रेमी जनसमुदायको सहभागिता गराउन आह्वान गरिएको छ।
नेताहरूको संयुक्त अपील
पत्रकार सम्मेलनमा समाजवादी मोर्चाका प्रमुख नेताहरू नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवले संयुक्त रूपमा गणतन्त्र र जनताको अधिकारको रक्षा गर्न एकजुट हुन आह्वान गरे ।
यस घोषणासँगै समाजवादी मोर्चाले प्रतिगमन, भ्रष्टाचार, स्वेच्छाचारिता तथा दलाल प्रवृत्तिविरुद्ध नयाँ संघर्ष सुरु गर्ने संकेत दिएको छ। आगामी आन्दोलन कस्तो रूप लिन्छ भन्ने विषयले राष्ट्रिय राजनीतिमा ठूलो चासो पैदा गरेको छ ।



