काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कार्यकर्ता र शुभेच्छुकलाई सम्बोधन गरेर मात्रै गिरफ्तारी दिने भएका छन् । रास्वपा कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार केहीबेरमा पार्टी कार्यालयमा पुगेर लामिछानेले सम्बोधन गरेर पोखरा जाने जानकारी गराएका हुन् ।
रवि लामिछानेलाई पक्राउ गर्न पक्राउ पूर्जी जारी भएपछि पार्टी कार्यालयमा पुगेका कार्यकर्तालाई सम्बोधन गर्दै कार्यवाहक प्रवक्ता झाले यस्तो बताउनुभएको हो ।
उहाँले पक्राउ गर्न आउने प्रहरी अधिकारीलाई प्रतिकार नगर्नसमेत कार्यकर्तालाई अनुरोध गर्नुभएको छ । प्रहरीले भने लामिछानेलाई सम्बोधन गर्न दिने वा नदिने भन्ने निर्णय गरिसकेको छैन ।
“अबको आधा घण्टामा पार्टी सभापति आउने छन् । त्यसपछि उनले केही बोलेपछि हामी सडकमार्ग हुँदै पोखरातर्फ लाग्नेछौँ’,कार्यवाहक प्रवक्ता झाले भन्नुभयो ।