१९ फाल्गुन २०८०, शनिबार
१९ फाल्गुन २०८०, शनिबार
spot_img

मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै

काठमाडौं । काठमाडौं उपत्यकामा मनसुन रोकिएसँगै डेंगुका बिरामी बढ्दै गएका छन् । उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या दिनप्रति दिन बढिरहेको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा बिहानैदेखि डेंगुका शंकास्पद बिरामी बहिरंग कक्ष (ओपीडी) मा लाइन लाग्ने गरेका छन् । अन्य अस्पताल वा प्रयोगशालामा डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दो क्रममा छ ।

अस्पतालका कन्सल्ट्यान्ट फिजिसियन डा.विमल शर्मा चालिसेका अनुसार डेंगु संक्रमित आइतबार दिउँसोसम्म १२ जना भर्ना भएका छन् । जसमध्ये आईसीयूमा दुईको उपचार भइरहेको छ । ‘एक हप्ता अगाडि २/३ जना संक्रमण पुष्टि हुने गरेको थियो । तर, पछिल्लो तीन–चार दिनमा डेंगु संक्रमितको केस ह्वात्तै बढेको छ’चालिसेले अनलाइनखबरसँग भने,‘अबका केही दिन डेंगु संक्रमित संख्या बढ्ने आकलन गर्न सकिन्छ ।

अस्पतालको बहिरंग कक्ष (ओपीडी) मा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण लिएर आउने गरेका छन्, जसमध्ये अधिकांशलाई डेंगु पुष्टि हुने गरेको छ ।पाटन अस्पतालमा एक सातायता ४५ जना डेंगुका बिरामी भर्ना भएका छन् । ‘दैनिक १०/१२ जना भर्ना भइराख्नुभएको हुन्छ’अस्पताल निर्देशक डा. रवि शाक्यले भने, ‘घर–घरमा डेंगु पुगेको छ । अस्पतालमा बेड भरिंदै गएका छन् ।’

त्रिवि शिक्षण अस्पतालमा पनि पछिल्ला दिन ओपीडी आउने बिरामीसँगै भर्ना हुने संख्या बढिरहेको छ । अस्पतालका डेंगु फोकल पर्सन डा. सविन थपलियाका अनुसार डेंगु संक्रमित १० जना भर्ना भएका छन् । ‘दैनिक १०/१५ जना नयाँ संक्रमित थपिंदै गएका छन् । अझै दुई–तीन हप्ता संक्रमणले तीव्रता लिन सक्छ’, डा. थपलियाले भने ।

स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार दैनिक करिब ६० देखि ७० जनामा डेंगु संक्रमण पुष्टि भइरहेको छ । नयाँ केस बढ्दै जानुले संक्रमण फैलिने जोखिम बढ्दै गएको विज्ञ बताउँछन् । ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तथ्यांक अनुसार यस वर्ष ७६ जिल्लामा डेंगुका संक्रमित भेटिएका छन् ।

गत माघदेखि २१ असोजसम्म ३५ हजार ९४ जना डेंगुबाट संक्रमित भएका छन् । हालसम्म २० जनाको मृत्यु भइसकेको छ । डेंगुबाट एक महिना अगाडिसम्म सुनसरी, झापा, धादिङ, मोरङ लगायत जिल्ला बढी प्रभावित भएका थिए । तर, पछिल्ला दिनमा यी जिल्लामा संक्रमित संख्या घट्दै गएको छ भने काठमाडौं उपत्यकामा भने संक्रमण बढ्दो छ ।

ईडीसीडीको शुक्रबारको तथ्यांक अनुसार काठमाडौंमा ७५१, भक्तपुरमा २६३ र ललितपुरमा २४४ जनामा संक्रमण पुष्टि भएको छ । डेंगुबाट संक्रमित भएकाहरू योभन्दा बढी हुनसक्ने महाशाखाले जनाएको छ । किनकि यो डेंगुको शंका लागेर अस्पताल पुग्नेहरूको मात्र तथ्यांक हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिटका प्रमुख डा. शेरबहादुर पुन पछिल्लो दिनमा संक्रमित बिरामीको संख्या डरलाग्दो दरले बढिरहेको बताउँछन् । केही दिनयता काठमाडौंमा डेंगुका बिरामी देखिनुले संक्रमित लामखुट्टेको सक्रियता बढेको र उपत्यकामा फेरि भाइरस फैलिने बलियो संकेत देखिएको डा. पुन बताउँछन् ।

डेंगु सामान्यतया मनसुन लगत्तै सुरु हुने गरे तापनि मनसुन सकिए लगत्तै पनि कुनै सीमित क्षेत्रमा फैलिने गरेको विगतका वर्षको अनुभव छ । ‘महामारी वा प्रकोपको रूपमा फैलिने हो भने मनसुन सुरु हुँदाको समयदेखि डेंगु संक्रमितको संख्या बढ्दै जान्छ । तर, मनसुन सकिएलगत्तै कुनै निश्चित क्षेत्रमा फैलने गरेको विगतका वर्षले पनि देखाउँछ’, डा. पुन भन्छन् ।

मनसुन सकिएलगत्तै डेंगु फैलिने पानी संकलन भएका ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण हुनुले कुनै निश्चित क्षेत्रमा फैलनसक्ने डा. पुनको अनुमान छ । ‘स्थानीय रूपमा लामखुट्टेको वृद्धि–विकास भइरहेको ठाउँमा आउट ब्रेक हुने सम्भावना हुन्छ’ डा. पुन भन्छन्, ‘काठमाडौंमा बालाजु, डल्लु, कालीमाटी, कलंकी, वनस्थली लगायत स्थान जोखिमयुक्त ठाउँ हुन् ।’

लामखुट्टेले सफा पानी जमेको स्थानमा फुल पार्ने गर्छ । विशेषगरी, वर्षाको पानी जम्ने जथाभावी फालेका बोतल, टिनका भाँडा, थोत्रा टायर, अलकत्रा वा मट्टीतेलका खाली ड्रमहरू, गमला, पानीका ट्यांकी आदिमा यसले फुल पार्छ । शहरी क्षेत्रमा यस्ता वस्तुहरू थुप्रै हुने भएकाले पनि शहरमा बढी लामखुट्टे देखिने गर्छन् ।

डा. पुनका अनुसार फोहोर राम्रो व्यवस्थापन नभएका कारणले पनि डेंगु फैलिरहेको कारकतत्व मान्न सकिन्छ । यस्ता कारणले लामखुट्टेलाई वृद्धि–विकास हुन धेरै सहज भएको छ ।

पानी संकलन भएको ट्यांकी, ड्रम, बाटा, बाल्टिन, टायर लगायत ठाउँमा लामखुट्टेको लागि उपयुक्त वातावरण भएकाले पनि डेंगु बढी, छिटो र तीव्र गतिमा फैलिरहेको छ । दुई वर्ष अगाडि सिनामंगल क्षेत्रमा डेंगुको आउटब्रेक भएको थियो । विगतका अनुभव र काठमाडौंमा बढिरहेको संख्याले कुनै निश्चित क्षेत्रमा डेंगु फैलिने अनुमान डा. पुन लगाउँछन् । तर संक्रमणले जटिलताको स्वरुप कुन हदसम्म लिन्छ भन्नको लागि केही दिन पर्खनुपर्नेछ ।

डेंगु एडिस एजेप्टाई र एडिस एल्वौपेक्टस नामक लामखुट्टेले टोकेर हुने तीव्र भाइरल संक्रमण हो । सामान्यतया डेंगु भाइरस फैलाउने लामखुट्टेका लागि भने १० देखि ४० डिग्रीसम्मको तापक्रम निकै अनुकूल मानिन्छ ।

लामखुट्टेको वृद्धि–विकासका लागि उपयुक्त तापक्रम भएकाले डेंगु प्रकोप बढेको विज्ञ बताउँछन् । डा. पुनका अनुसार एउटा लामखुट्टेको सरदर आयु ३० देखि ४० दिनसम्मको हुने भए पनि लामखुट्टेले पारेका फुलहरू उपयुक्त वातावरण पाउँदा वर्षौंसम्म रहिरहन्छन् । पछि त्यही लार्भा बन्छ । लार्भा सातदेखि १० दिनसम्ममा वयस्क हुन्छ ।

अहिले पानी पर्न रोकिएको छ । पानी एकै ठाउँमा जमिरहँदा लामखुट्टेले आफ्नो जीवनचक्र विकास गर्न पाउँछन्’ डा. पुन भन्छन्, टायर, गाडी मर्मत गर्ने ठाउँमा बसोबास गर्ने स्थानका मानिस बढी प्रभावित भएको देखिन्छ ।’ डेंगु सार्ने लामखुट्टेले प्रायः दिउँसो मात्र टोक्छ । उक्त संक्रमित पोथी लामखुट्टेले न्यूनतम पाँच एमएलसम्म पानी जमेको र सफा पानीमा पनि फुल पार्न सक्छ ।

डा.पुन लामखुट्टेको लार्भा खोजेर नष्ट गर्ने योजना गफ र काजमा मात्रै सीमित देखिएको बताउँछन् ।‘हामीले गत वर्षको डेंगु महामारीबाट भने पाठ सिकेनौं वा सिक्न चाहेनौं वा बिर्सियौं भन्ने बुझिन्छ । धरानमा यो वर्ष डेंगु फैलनु पछाडिको मुख्य कारण र कमजोरी पनि लार्भा खोज र नष्ट अभियान प्रभावकारी नहुँदा भयो’डा.पुन भन्छन् ।

डेंगु संक्रमित बिरामीलाई २ देखि ७ दिनसम्म ज्वरो आउने गर्छ । ज्वरो घटेर गएका बेला २४ देखि ४८ घण्टासम्मको समयमा क्रिटिकल फेजमा रहन्छ । डा. चालिसे भन्छन्,यस्तो बेलामा कतिपय व्यक्तिको शरीरबाट रक्तस्राव हुने र केहीमा रक्तचाप घटेर सकमा जान सक्ने सम्भावना हुन्छ ।

संक्रमित व्यक्तिलाई श्वास–प्रश्वासमा कठिनाइ भएमा, पेट दुख्ने, गिजाबाट रगत बगे जस्तो हुने,कालो दिसा आउने,थकान महसुस हुने,उल्टी हुँदा रगत देखिने,बिरामी बेहोश हुने, नाकबाट रगत आउने लगायत लक्षण देखिएमा डेंगु संक्रमण जटिल भयो भनेर बुझ्नुपर्ने र तुरुन्तै अस्पताल जानुपर्ने चिफ कन्सल्टेन्ट फिजिसियन डा.चालिसे बताउँछन् ।

तत्काल लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियानलाई एक्सनमा बदल्न सकेमा थप संक्रमित हुने अवस्थालाई ब्रेक लगाउन सकिने विज्ञ बताउँछ । तर, वयस्क भइसकेको लामखुट्टेको तत्काल नियन्त्रण गर्ने उपाय नहुँदा यसको टोकाइसँगै संक्रमित हुनेको संख्या भने रोक्न कठिन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (100%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया

युग प्रेस डटकम

युग प्रेस डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई yugpress9123@gmail.com मा पठाउन वा ९८४८८६७८३३ फोन गर्न सक्नुहुनेछ ।

सम्बन्धित खबर

सामाजिक संजाल

लाेकप्रिय

भर्खरै

spot_img
spot_img

छुटाउनुभयो कि ?