काठमाण्डौं : नेपालका राजनीतिक दलहरुले एक प्रति अर्कोले आरोप लगाउने यो कुनै नयाँ प्रचलन भने होइन तर अब समय फरक भएको छ अब त सच्चिउन भन्ने जनताको आशा छ तर पुराना पार्टीहरू भने यो प्रवृत्ति भन्दा माथि उठ्न सकिरहेका छैन ।
यसको प्रतिनिधि घटनाको रूपमा लिन सकिन्छ मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार प्रति गरेको टिप्पणी । प्राय संसद भनेको जनताको सार्वभौमसत्ताको अभ्यास गर्ने सर्वोच्च निकाय हो । त्यहाँ बहस हुनुपर्ने जनताको जनजीविका र सहजताको हो तर त्यहाँ बहस हुन्छं आरोप प्रत्यारोपको ! अनि कसरी जाग्छ जनतालाई ती दल प्रतिको विश्वास ?
करिब २ घण्टा लामो मन्तव्य दिएका केपि ओलिले जनताका समस्याका विषय भन्दा पनि आफू सत्ता बाहिर बस्नु परेको कुण्ठा पोखे ! उनले खासै जनताको विषय उठान गरेनन् । गरे त केबल राजनीतिक दाउपेचका विषय ? ओलिको मन्तव्य पछि अहिले सबै भन्दा बढी आलोचित बनेको विषय छ उनले जनयुद्ध दिवस प्रति गरेको टिप्पणी ? उनले भने फागुन १ गते हिंसा सुरु गरेको दिन हो त्यो कसरी जनयुद्ध दिवस हुन् सक्छ ? यो निर्णय खारेज नगरे आफूहरु यस विरुद्ध जाने चेतावनी पनि उनले दिए । संसदमै नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले फागुन १ गते अहिलेको राजनीतिक व्यवस्था ल्याउने महान दिनको सुरुवात गर्ने दिन रहेको जिकिर गरे ।
आज मात्रै बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले केपि ओलिको टिप्पणीको खण्डन गरेकी छन् । उनले यो मन्त्री स्तरीय निर्णय भएका कारण एक जना व्यक्तिले भन्दैमा खारेज नहुने बताएकी छन् । जनयुद्ध दिवसको विषयमा उहाँले व्यक्त गरेको अभिव्यक्तिमा सरकारको सहमति छैन ।’
मन्त्री शर्माले आजको व्यवस्था र अवस्था जनयुद्धकै जगमा बनेको समेत बताइन् । ‘जनयुद्धको जगमा जनआन्दोलन सम्पन्न हुँदैनथ्यो भने हामी यो संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा हुँदैनथ्यौँ’ मन्त्री शर्माले भनिन्, ‘क्याबिनेटले डिसिजन गरेर सरकारको क्यालेण्डरमै समावेश भइसकेको विषयमा अनावश्यक ढंगले घृणा फैलाउनु उपयुक्त हुँदैन ।’ जनयुद्ध खास पार्टी र व्यक्तिको विषय नभएकाले सरकारले दिवसकै रुपमा मनाउने उनको भनाइ छ ।
अहिलेको पुष्प कमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले गएको माघ २९ गते फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
अब सवाल उठ्छ हिजो २०७४ सालमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच पार्टी एकता हुँदा स्वार्थ मिल्यो सबै ठीक थियो आज स्वार्थ मिलेन सबै गलत छ ! के यही हो अहिले नेपाली जनताले खोजेको राजनीतिक चरित्र ?