काठमाडौं । बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्गमा दिनहुँ पहिरो खसेर सडक अवरुद्ध हुँदा यात्रुलाई सास्ती हुँदै आएको छ ।
बेला–बेलामा पहिराले राजमार्ग अवरुद्ध हुँदा सास्ती हुने गरेको सिगास गाउँपालिका–९ जालहाल्लाका लक्ष्मी चन्दले बताए । उनले भने, ‘गत वर्षहरूमा पनि बर्सातको समयमा पहिरो बेला–बेला जाने गरेको थियो, यो वर्ष घुम्ती कटिङको काम चलिरहेकोले झनै गइरहेका छन् ।’
बझाङ जिल्ला जोड्ने र बैतडीका पनि सिगास, सुर्नया गाउँपालिका र पुर्चौडी नगरपालिका पनि यही राजमार्ग भएर जानुपर्दछ । यही असार १० गतेदेखि हालसम्म उक्त राजमार्ग पाँचपटक बन्द भइसकेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले बताए । दिनमा सयौँ गाडी आवतजावत गर्ने राजमार्ग बेला–बेलामा अवरुद्ध हुने गर्नाले समस्या हुने गरेको यात्रुहरूले बताएका छन् ।
यो राजमार्गको घुम्ती कटिङ गरेर स्तरोन्नतिको काम सञ्चालन भएकाले झनै समस्या भएको छ । घुम्ती कटिङ गरेका स्थानमा पानी परेपछि पहिरो गएका छन् । प्रहरी निरीक्षक जोशीले भने,‘घुम्ती कटिङ र स्तरोन्नतिको काम भएकाले बेला–बेला राजमार्ग अवरुद्ध हुने गरेको छ, हामीले बन्द भएको जानकारी पाउनसाथ खुलाउने प्रयास गर्छौं । जेसिबी पनि राजमार्गमै तयारी अवस्थामा राखेका छौँ ।’
पहिराले घन्टौँसम्म सडक अवरुद्ध हुँदा आकस्मिकरूपमा यात्रा गरिरहेका यात्रुलाई बढी समस्या हुने गरेको छ । उनले भने, ’बर्सातमा सधैँ पहिरो जाने हुँदा यात्रा गर्दा निकै डर लाग्ने गरेको छ । बिरामी र आकस्मिक यात्रा गर्नेलाई झनै समस्या हुन्छ ।’
लगातारको वर्षाका कारण राजमार्गअन्तर्गत ज्यापुमा सडक माथिबाट ठूलो ढुङ्गा खसेपछि असार १७ गते राति बन्द भएको सडक १८ गते बिहानदेखि सञ्चालन भएको थियो । यसअघि असार १७ गते पनि सोही राजमार्गको सुर्नगा गाउँपालिका–८ ढोल्यामोड र सुर्नया गाउँपालिका–६ मोतीनगरमा पहिरो खसेर अवरुद्ध भएको थियो ।
असार १६ गते पनि सो राजमार्गअन्तर्गत बैतडीको सुर्नया–८ आलुगैरामा, असार १४ गते पाटन नगरपालिका–८ ज्यापुमा, असार १० गते सिगास गाउँपालिका–९ श्रीभावरमा पहिरो खस्दा यातायात सेवा पूर्णरूपमा बन्द भएको थियो ।
वर्षाको समयमा यात्रा गर्न समेत डर लाग्ने गरेको बझाङ बित्थडचिर–१ का राम बोहराले बताए । उनले भने, ‘साँघुरो सडक त्यसैमा बेला–बेला पहिरो खसिरहनाले घन्टौँ बीच बाटोमै बस्नुपर्छ, यात्रा गर्न निकै डर लाग्छ ।’ बेला–बेलामा खस्ने पहिराको दीर्घकालीन समाधानका उपाय खोज्न यात्रुको माग छ ।
सडक अवरुद्ध भएमा तुरुन्तै सञ्चालनका लागि डोजर र स्काभेटर तयारी अवस्थामा राखिएको र दीर्घकालीन समाधान घुम्ती सुधार गरी स्तरोन्नतिको काम सम्पन्न भएपछि मात्रै हुने सडक डिभिजन कार्यालय पाटनले जनाएको छ।