महेन्द्रनगर , चैत २० : नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले कञ्चनपुरमा जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्र सञ्चालनमा आउने भएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै नास्टले सुदुरपश्चिम प्रदेशमा जडिबुटी प्रशोधन सम्बन्धी विशिष्टीकृत अनुसन्धान केन्द्र सञ्चालनमा ल्याउने जनाएको हो ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) लाई देशव्यापी बनाउनको लागि हरेक सात ओटै प्रदेशमा एक – एक प्रयोगशाला बनाउने उद्देश्य अनुरूप सुदुरपश्चिमको प्रदेश अन्तर्गत महेन्द्रनगरमा जडिबुटी प्रशोधन सम्बन्धी विसिष्टकृत अनुसन्धान प्रयोगशाला बनाउन लागेको मुख्य वैज्ञानिक अधिकृत तथा नास्टका सचिव रवीन्द्र प्रसाद ढकालले बताए । संघ, प्रदेश तथा स्थानीय गरी तिनै तहका सरकारको समन्वयमा जडिबुटी प्रशोधन प्रयोगशाला निर्माण हुन लागेको सचिव ढकालको भनाइ छ । सचिव ढकालले भने , “ आजको कार्यशाला गोष्ठीले विषेशगरी यस क्षेत्रको मजबूत पाटो के हो ? आगामी दिनमा अनुसन्धान केन्द्रलाई कसले कसरी अगाडि बढाउने भन्ने नीतिगत रुपमा के गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ । त्यसैले हामीले यहाँका व्यबसायी , किसान , प्राज्ञिक एवं सरोकारवाला निकाय बोलाएका थियौं ।” अब प्रयोगशाला सञ्चालक समितिको बैठक बसेर यस क्षेत्रका जडीबुटीको पहिचान कसरी गर्ने तथा बजारीकरण , व्यवसायिकरण गर्ने सम्बन्धमा थप निर्णय गरेर अगाडि बढ्छौं , उनले भने । नास्टले अहिले देशको प्रविधि तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको उनले बताए ।
गोष्ठी कार्यक्रममा प्रमुख अतिथि रहेका सुदुरपश्चिम प्रदेश सरकारका नीति तथा योजना आयोग उपाध्यक्ष अनुप कुमार उपाध्यायले जडिबुटी प्रशोधन तथा अनुसन्धान केन्द्रको स्थापनामा प्रदेश सरकारले सकेको सहजीकरण गर्ने बताए । यस क्षेत्रको जडीबुटीको प्रशोधन गरी व्यवसायिकरण गर्ने सके आर्थिक हिसावमा उन्नति गर्न सकिने उपाध्यायको भनाइ छ ।
गोष्ठीमा नास्टका प्रज्ञा तथा विशिष्टीकृत अनुसन्धान केन्द्र सुदुरपश्चिमका अध्यक्ष प्रा. डा विजया पन्त, नास्टका मुख्य वैज्ञानिक अधिकृत डा.लोकरञ्जन भट्ट , वनस्पति अनुसन्धान केन्द्र कैलालीका प्रमुख गंगादत्त भट्ट , जडिबुटी व्यबसायी टेक बहादुर चन्दले कार्यपत्र प्रस्तुत गरेका थिए ।
नास्टले यसभन्दा पहिला पनि कञ्चनपुरमा शाखा कार्यालयको रूपमा कार्यालय खोलें पनि त्यो पूर्ण रुपमा कामकाज गर्न सकिरहेको थिएन । अब भने नास्टले सुदुरपश्चिम प्रदेश स्तरीय विशिष्टीकृत अनुसन्धान केन्द्र खोल्न लागेको हो । अनुसन्धान केन्द्र खोल्नका लागि नास्टले जग्गा खोजेर नयाँ कार्यालय भवन निर्माण गर्ने जनाएको छ । कार्यालयमा एक प्रशासकीय अधिकृत, एक लेखा, एक मुख्य वैज्ञानिक , दुई जना वरिष्ठ वैज्ञानिक र तीन जना अनुसन्धान विश्लेषक (Research analyst) रहने नास्टले जनाएको छ ।